विराटनगर : प्रदेश नं. १ मा कोरोना संक्रमण न्यून देखिएको छ । गएको २४ घण्टामा प्रदेश १ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार २१ जनामा संक्रमण देखिएको थियो ।
प्रदेशमा शनिबार ५९ महिलासहित १३० जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक÷एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा ७०६ महिलासहित दुई हजार ८८ जनाको मृत्यु भइसकेको छ । सोही अवधिमा २६ जनाको पीसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा एक / एक जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट एक लाख पाँच हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म पीसीआर र एन्टिजेन दुवै गरी छ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया