काठमाडौँ : समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।
परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् । समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पद्यप्रसाद खतिवडाका अनुसार सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताए ।
उपाध्यक्ष खतिवडाका अनुसार प्रधानमन्त्रीका सचिवालयबाट आफूहरूलाई पटक पटक राजीनामा गर्न दबाब दिइएको र राजीनामा नदिए हटाउने तयारी भएको भन्दै धम्काउने गरिएको थियो । खतिवडाले भने, ‘हामीलाई विभिन्न बहाना बनाएर पटक पटक दुख दिने, यो किन भयो र किन भएन भनेर पटक पटक बोलाउने, ह्यारेसमेण्ट गर्ने र राजीनामा दिएर मार्ग प्रशस्त गर्नुप–यो भनेर दबाब दिइरहे । अब काम गर्नलाई बजेट नदिने, कर्मचारीको म्याद थप नगर्ने र हामीलाई ह्यारेसमेण्ट गर्न थालेपछि सामूहिक राजीनामा बुझाएका हौँ ।’
उपाध्यक्ष खतिवडाका अनुसार परिषद्मा राजनीतिक हस्तक्षेप बढेको र प्रधानमन्त्री शेर बहादुर देउवाको सचिवालयबाट पटक पटक राजीनामाका लागि दबाब दिएपछि मार्ग प्रशस्त गरिदिएको हो । यसबारे थप जानकारी दिन असोज ८ गते शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको परिषद्ले जनाएको छ ।
प्रतिक्रिया