सर्लाहीः जिल्लाकाे बागमती नगरपालिका–४ मा निर्माण भएको देशकै ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ। बिहीबार एक कार्यक्रम आयोजना गरी नगरप्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेका थिए।
पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ बागमती–४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको जेटबोट सञ्चालन गरिएको नगरप्रमुख थापाले जानकारी दिए। सो मानवनिर्मित तालमा विसं २०७८ वैशाख १ गतेदेखि बागमती इन्टरटेनमेन्ट प्रालिले दुईवटा मोटरबोट सञ्चालन गरेको थियो भने बिहीबारदेखि जेटबोट कुदाइएको नगरप्रमुख थापाले बताए।
साे ताल प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ। तालमा विभिन्न ठाउँबाट दैनिक हजारौँ आन्तरिक पर्यटक आउने गरेका छन्। नगरप्रमुख थापाको विशेष पहलमा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो तालकोे कूल गहिराइ ३५ फिट रहेको छ।
तालको कूल लागत रू ६० करोड निर्धारण गरिएको छ भने हालसम्म रू ३७ करोड लगानी भइसकेको उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन्। गर्मी महिनामा मोटरबोट चढेर गर्मी भगाउन र मनोरञ्जन लिन तथा बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक उक्त तालमा आउने गरेका छन्।
प्रतिक्रिया