ताप्लेजुङः हिमपात भएसँगै ताप्लेजुङको विभिन्न क्षेत्र तुवाँलेले अँध्याराे भएकाे छ। सदरमुकाम फुङ्लिङ पनि मङ्गलबार बिहानैदेखि तुवाँलोले अँध्यारो बनाएको छ।
हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा तीन दिनदेखि हिमपात भएको कारण तुवाँलाेले ढाकेर गाउँ अँध्याराे भएकाे स्थानीय पेमा शेर्पाले बताइन्। उनले भनिन्, “तीन दिन भयो हिउँ पर्दै रोकिँदै गरेको। आज पछि हिउँ पर्दै छ।” हिउँ परेपछि चिसोका कारण जनजीवनसँगै पशु चौपाय प्रत्यक्ष प्रभावित हुन पुगेको उनले बताइन्। घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थीत एक पर्यटकीय क्षेत्र हो।
यता जिल्लाकै फक्ताङलुङ–७ ओलाङचुङगोलामा भने हिउँ नपेर पनि तीन दिनदेखि गाउँ नै अँध्यारो भएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए। उनले भने, “हामीले त जङ्गलमा आगलागी भएछ, भनेर तलसम्म झरेर हेर्याैं। आगलागी भएको हैन् रहेछ।”
तुवाँलोका कारणले प्रत्यक्ष स्वास्थ्यमा प्रभाव पर्ने जनाउँदै सरकारको आइतवारको चार दिन विद्यालय विदा दिने निर्णय गरेसँगै आजदेखि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द भएका छन्।
प्रतिक्रिया