काठमाडौंः देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले केही दिनयता बढेकाे वायु प्रदूषण केही कम भएको छ। गत शुक्रबारदेखि एक्कासि प्रदुषणकाे तुवाँलाेले काठमाडाैंसहित देशका विभिन्न भाग ढाकेकाे थियाे।
पश्चिमी वायुको प्रभावले केही स्थानमा हिजो बेलुका हल्का वर्षा भए पनि तुवाँलो पूर्णरुपमा हटी मौसम सफा हुन भने अझै केही समय लाग्ने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। उनकाअनुसार तुवाँलो पूर्णरुपमा हटी मौसम सुधार हुन हावाको गति बढ्नुपर्छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार उपत्यकामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो। पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि भइरहेकाे छ। साथै बाँकी भूभागमा बदली नरहे तापनि तुवाँलो रहेको छ। दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन, चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।
प्रतिक्रिया