सिरहाः कोभिड–१९ को सङ्क्रमण बढेपछि सिरहामा आंशिक निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक तथा परिचयपत्रधारी कर्मचारीबाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्न पाउने छन्। यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजेबाट अपराह्न ५ बजेसम्म मात्र सञ्चालन हुनेछन्।
सैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि बैठकले गरेको छ भने पूर्वनिर्धारित विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय भएको डिसीसीएमसी सिरहाका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिए।
यस्तै भारतसँग जोडिएका जिल्लाका सबै नाका बन्द गरिएकाले यसलाई कडाइका साथ कार्यान्वयन गरिने निर्णय भएको जनाएको छ।
सिरहामा मङ्गलबार एकैदिन ४३ नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय २९ पुगेको छ भने चार जनाको निधन भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।
प्रतिक्रिया