काठमाडाैंः मेलम्ची खानेपानी आयाेजनामार्फत उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर पानी वितरण शुरु गरिएकाे छ। गत चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरु गरिएको थियो।
पहिलाे चरणमा साढे आठ करोड लिटर पानी वितरण भएकोमा वैशाख १ देखि १० करोड लिटर पानी वितरण शुरु गरिएकाे थियाे। आज शुक्रबारदेखि भने दैनिक १२ करोड २६ लाख लिटर पानी वितरणका लागि पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए।
केही दिनमै १४, १५.५ हुँदै १७ करोड लिटर पानी वितरण गर्ने गरी योजना बनाइएको उनले बताए। वैशाख ५ गतेसम्ममा मेलम्ची खोलाको १७ करोड लिटर नै पानी सुरुङबाट राजधानी ल्याई वितरण गर्ने आयोजनाले जनाएको छ। हाल सुन्दरीजलमा दुवै प्रशोधन केन्द्रबाट पानी प्रशोधन हुन थालेको छ। चैत मसान्तसम्म एउटा प्रशोधन केन्द्रमात्र सञ्चालन गरिएको थियो। वैशाख १ गतेदेखि भने दुवै प्रशोधन केन्द्र सञ्चालनमा आएकाे हाे।
केही सातामै कीर्तिपुर र मध्यपुर थिमि नगरपालिकाको टिगनीस्थित पानीपोखरीमा समेत पानी पुर्याएर परीक्षणका रुपमा वितरण गरिने आयाेजनाले जनाएकाे छ। पानी वितरणका लागि राजधानीमा नौवटा पानी पोखरी र एक हजार एक सय किमी वितरण प्रणाली पनि निर्माण भइसकेको छ। मेलम्चीको पानी हाल पुरानै वितरण प्रणालीबाट वितरण भइरहेको छ। अनामनगरका पाँच सय धारामामात्र नयाँ वितरण प्रणालीबाट पानी पठाइएकाे छ।
मेलम्चीको पानी वितरणका लागि उपत्यकामा करीब ८० हजार नयाँ धारा जडान गरिएको छ। सबै धारामा नयाँ मिटर जडान गर्न लागिएको छ। नयाँ धारा जोडिएको स्थानलाई एक सय ६२ क्षेत्रमा विभाजन गरिएको छ। यसरी विभाजन गरिएको क्षेत्रलाई ‘सब डिएमए’ नामकरण गरिएको छ। एउटा ‘सब डिएमए’ मा ५०० देखि ७०० सम्म धारा छन्।
प्रतिक्रिया