काठमाडौं- हरर–थ्रीलर विधाको नेपाली टेलिफिल्म प्रशारण हुने भएको छ। आउँदो फागुन ३ बाट ‘हरर डायरिज्’ प्रशारणमा आउने भएको हो।
विजय सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको हरर डायरिज् एपि वन टेलिभिजनबाट हरेक सोमबार र मङ्गलबार राती ८ः३० मा प्रशारण हुनेछ। निर्देशक सुवेदी ‘अस्कर कलेज अफ फिल्म स्टडिज्’बाट चलचित्र निर्देशनमा स्नातक उत्तिर्ण हुन्।
टेलिफिल्मको पहिलो एपिसोडको नाम ‘अधिरा’ रहेको छ। ‘अधिरा’मा सदीक्षा शर्मा, निश्चल कार्की, युरेका रायमाझी, सुवास गजुरेल, सुजन खतिवडा र कपिल अधिकारी प्रमुख पात्रको रूपमा रहेका छन्। डिरेक्टर अफ फोटोग्राफिमा सानुबाबु महर्जन रहेका छन् भने छायांकन सन्देश शर्माको रहेको छ।
हरर डायरिजमा चिफ असिस्टेन्ट डिरेक्टरको रुपमा जीवन ढुंगेल र एसोसियट डिरेक्टरमा सदीक्षा शर्मा रहेका छन्। सागर अर्याल प्रोडक्सन म्यानेजरको रुपमा छन् भने श्री मानु जुमन मेक–अप आर्टिस्टको रुपमा रहेका छन्।
एच पी सुवेदी र सुष्मा अर्यालको निर्माणमा तयार भएको टेलिफिल्ममा असीम तिमल्सिना क्रियटीभ सल्लाहकारको रुपमा छन्।
टेलिफिल्मको पहिलो एपिसोडको सम्पूर्ण काम सकिएको र आगामी एपिसोडका लागि सुटिङको तयारी भइरहेको निर्देशक सुवेदीले बताएका छन्। सुवेदीका अनुसार ‘हरर डायरिज’ पूर्णतया नेपाली गाउँ र समाजका कथाले भरिएको हुनेछ।
उनी भन्छन्– ‘हामी सानैदेखि कि त हलिउड कि त बलिउड सिनेमा हेरेर हुर्कियौं, तर हामीले हाम्रै समाजका अनगिन्ती कथालाई भने बेवास्ता गर्याैं। हरर डायरिजमा मैले चाहिँ नेपाली ‘भूत’का कथा लिएर आएको छु।’
टेलिफिल्मका अधिकांश सदस्य सहित निर्देशक सुवेदीको यो पहिलो टेलिभिजन डेव्यू हो। यसअघि उनी विभिन्न प्रोडक्सन कम्पनीमा असिस्टेन्ट डिरेक्टरको रुपमा काम गर्दै आएका थिए।
टेलिफिल्मकाे ट्रेलर यस्ताे छ :
प्रतिक्रिया