- सुनेको हो, पुष्पलाल श्रेष्ठ खाना खाँदा एक सितो पनि छोड्दैनथे। खाना पस्कुनअघिको र खाना खाइसकेपछिको थाल छुट्याउन धौधौ नै पर्थ्यो। समकालीन र सहयोद्धा कमरेडहरू भन्ने गर्थेः कमरेड हुनु त यस्तो पो त, खाना एक सितो पनि फ्याक्नु हुन्नँ। समयकालान्तरमा पाटी पनि बरमझियाको पेडा पसलजस्तो बन्दै गयो। कमरेडहरू आआफ्ना दुकान सम्हाल्न लागे।
हिजो एकै ठाउँ भएको पुष्पलाल गद्धार भयो भन्न थालेर। एकसितो भातसमेत नछोड्ने यस्ता लोभीले पनि पार्टी चलाउछन्? अझ देश अर्थात् सत्ताकै बागडोर यिनको हातमा गयो भने झन् के होला? यही सेरोफेरोमा यो आलेख केन्द्रित छ।
अहिलेसम्मको तस्वीरले निरङ्कुश कालबाहेक नेपाललाई राजनीतिको प्रयोगशाला वा खेलमैदान बनाइयो भन्नुमा अन्यथा नहोला। मुहानलाई फोहोर राखेर हामीले राजनीतिमा यतिबिघ्न प्रयोग वा अभ्यास गर्यौं, सायद यस्ता खेल विरलै देख्न पाइन्छ। पटक–पटकका अभ्यासबाट पनि मुलुकमा अपेक्षित र गुणात्मक विकास, उन्नति, प्रगति फलेन। जनताको फुस्स मुहार हरियालीमा अनुवाद हुन सकेन। किन? सहायक कारणको लस्कर नै होला तर मूल कारण हो—परिवर्तनको आधार गाली संस्कृति!
अर्कालाई ताछेपछि वा खुइल्याएपछि आफू उत्तम ताछिएको पात्र खत्तम भन्ने मनोवृत्ति बडो जब्बरसाथ हामीसँग टाँसिएको छ। सायद हामीले आफूबाहेक बाँकीलाई धारे लगाउन बाँकी छैन। पृथ्वीनारायण शाहले त सुख पाएनन्, बाँकीको के गति होला र ! यसको अर्थ काम नलाग्ने पात्रहरू र प्रवृत्तिलाई शीरमा बोक्नुपर्छ भन्ने आशय होइन। जे छ, जस्तो छ, त्यही आकृतिमा उतारी असल पक्षलाई स्थापित र दुर्जन प्रवृत्तिलाई विस्थापित गर्न सकेको भए आज मुलुक र मुलुकवासीको अनुहार र पहिचान पृथक् हुने थियो।
अब हाम्रो राजनीतिक परिवर्तनको चक्र हेरौँ। देशमा जहानियाँ राणा शासन छिर्यो। सो प्रणाली परिवारवाद, सुखसयल, मोजमस्तीभन्दा माथि उठ्न सकेन। छोरा, नाति, पनाति जन्मँदै श्री ३, जर्नेल, कर्नेलका अंशियार बन्न पुगेका छन्। वास्तविक देश र जनताको तस्वीरको प्रतिबिम्ब यस शासनमा सम्भव छैन। अतः राणा शासन मुर्दावाद भन्दै एकतन्त्रीय शासनलाई लखेटी २००७ फागुन ७ मा देशमा क्रान्तिको माध्यममार्फत प्रजातन्त्रलाई प्रवेश गराइयो।
त्यसपछि गालीको अर्को शृङ्खलाको बिजारोपण भयोः देश अशान्ति, असुरक्षा, लुटपाट, आन्तरिक कलह उब्जाउने कारखाना बन्न पुग्यो। अस्थिरताको सेरोफेरोमा मुलुकको राजनीतिक कैद भयो। जनताका चाहना, आकांक्षाले जन्मन, फुल्न, फल्न पाएनन्। विकासको लागि यो पद्धति ‘प्याङखर’ बन्न पुग्यो। यस व्यवस्थालाई लखेटन जति ढिलो हुन्छ, उति देश दुर्गतिको खाडलमा जाकिन्छ, जनताको उज्ज्वल भविष्य उति नै पर धकेलिन्छ।
अतः यस प्रणालीलाई बिदाइ गर्न आवश्यक भइसकेको छ। अन्ततः २०१७ पुस १ पञ्चायती व्यवस्थालाई स्वागत गरियो र भनियोः देशको हावापानी, वातावरण, परिवेशभन्दा बाहिर वा टाढाकोे शासन प्रणाली मुलुकको लागि फापसिद्ध हुन सक्दैन। जस्तो माटो उस्तै बिजको आवश्यकता हुन्छ।
त्यसपछि पञ्चायत र राजालाई सराप्न थालियो। जहाँ, राजा त्यहाँ सबै स्वाहा ! फरक विचारलाई जन्मन, हुर्कन र खेल्न निषेध छ। वंशीय परम्परामा छोरा, नाति, तिनका भाइभारको मात्र भविष्य छ। जनताको हैसियत रैतीभन्दा माथि छैन। देश र जनतामाथि जेजति घात भयो, बिग्रियो, नासियो, भत्कियो, विशुद्ध कारण होः सक्रिय राजतन्त्रमा आधारित शासन प्रणाली ! अब यो सेतो हातीजस्तो व्यवस्थालाई गोडमेल गर्न वा पाल्न आवश्यक छैन। जे गर्छ अब बहुदलीय शासन प्रणालीले गर्छ।
पुनः २०४६ को परिवर्तन अर्थात् बहुदलीय शासन व्यवस्थाको पुनरागमन ! केही वर्ष व्यतित नहुँदै लफडाको श्रीगणेश भयो र भनियो, यो व्यवस्थाले खसीको टाउको झुण्डयाउँछ र कुकुरको मासु बेच्छ। त्यसैले यसबाट देशको कल्याण र जनताको भलो हुन्छ भन्नु झिँगालाई ओखर फोर्ने जिम्मा लगाउनु उस्तै हो। यी र यस्तै भाका हाल्दै देशको नयाँ नक्सा कोर्न तत्कालीन नेकपा (माओवादी) सशस्त्र युद्धको खेतीतिर प्रवेश गर्यो। ओडार र भण्डारबीचको लखड्याम बोलीबचनमा मात्र सीमित रहेन, सक्नेले भौतिक रूपमा नै सिध्याउने दिशामा रूपान्तरित भयो। यसको थप बखान गरिरहनुनपर्ला।
वंशविनासपछि खोपीमा बस्नु भनी बनाइएका राजालाई लाग्यो; बिगार्ने, भत्काउने यिनै दल हुन्। मैले नसम्हालीकन उपाय छैन। जनतालाई भने जहाँ दल, जहाँ नेता, त्यहाँ मनलाग्दी रजाइँ, दाइँ। यो पाराले चल्दैन, म टुलुटुलु हेरेर बस्न सक्दिनँ। जे गर्छु म गर्छु।
अन्ततः उही पुराना, म्याद गुज्रिसकेका, परीक्षण भइसकेका पात्रलाई पछाडि लगाए र आफू अगाडि सरे। अब आफ्नो खैरियत धरापमा पर्ने भएपछि यता ओडारे र भण्डारे एउटै जुवामा नारिँदै गर्जिए, देशको हरिबिजोगको सम्पूर्ण जिम्मा अढाइ सय वर्षको राजतन्त्रको थाप्लोमा जान्छ। लिखितम् अर्थात् करारको लागि छिमेकी भूमि र उही पात्र हाबी भयो।
हेर्दाहेर्दै दाहिने, देब्रेको अगुवाइमा राजतन्त्र झोलीतुम्बीसहित नागार्जुनतिर लाग्न बाध्य भयो।
दलहरूले फेरि गीत गाए– ‘अब हामी गतिला आएका छौँ, मुलुक सिंगापुर बन्छ, जापान बन्छ, स्विजरल्याण्ड बन्छ, दायाँबायाँ नगरी ढुक्क भए हुन्छ। राजतन्त्र अब बाटो लागिसकेकोले चाउरिएको देश पाउलिन्छ, फल हाल्छ, स्वाद हालीहाली चाख्न पाइन्छ। संघीयताले अहिलेसम्मको देश र जनताको रोग सर्लक्कै निको पार्छ।’
ठूलै रस्साकस्सीबीच छिमेकीको चोखे लगाउदा लगाउँदै पनि संविधान जारी भयो। निर्वाचन पनि भयो। संविधानले भनेको अद्यावधिक निर्वाचन मध्यावधिमा अनुवाद भयो। व्यवहारले पुष्टि गर्यो; सामान्तया राजनीतिक दललाई सत्ता पच्दैन। अस्थिरता मुर्दावाद, स्थिरता जिन्दावाद! को पुराण हाली एकगठ भई सत्तामा पुगेको देब्रे दलका नेतृत्व आपसमै ङ्यारङुरमा यति निर्लज्जका साथ उत्रिएका छन्, नोबेल पुरस्कारसम्बन्धी प्रावधान भएको भए गाली शिरोमणि! मा बाँकी होचा ठहरिने थिए।
यतिसम्म कि सम्माननीयबाट नै जीवनभर निष्ठा र पेसामा खरो उत्रेको, उमेरले शताब्दी हाराहारी पुगेको ज्येष्ठ नागरिक पनि सुरक्षित हुन सकेन। गाली संस्कृतिबाट स्थापित परिवर्तनलाई पृथक राख्ने ल्याकत नहुँदा वर्तमान पनि उही नियतिमा जिउन बाध्य छ।
परिवर्तनपछाडिको कारण र त्यसपछि के भन्ने प्रश्न हामीसँग भए भए सायद नाङ्गो निजीकरणको सिकार भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, बाँबाारी छालाजुत्ता उद्योगले हुुनुपर्ने थिएन। गाली होइन, काम हाम्रो पहिचान बन्थ्यो। मुख चलाएर होइन, हात चलाएर, खुइल्याउने चिन्ताबाट होइन, बनाउने चिन्तनमा सबैको भविष्य थियो र छ।
जङ्गबहादुर भन्यौं सराप्याैं, चन्द्र र जुद्ध शमशेर भन्यौं, धारे हात लगायाैं। शाहवंशलाई त अहिले पनि बाँकी राख्न छोडेका छैनौँ। उनीहरूका राम्रा, असल, धारणयोग्य शिक्षा हामीलाई अपच भयो, पच्यो त उही गालीगलौज, काटमार, हत्या, हिंसा! त्यसैले हामी एकातिर नयाँ युगका जङ्ग, चन्द्र, जुद्ध आदि आदि हौँ। अर्कोतिर भूपिले भनेजस्तै क्यारेमबोर्डका गोटी हौँ। अनि भाले मेवा हौँ, फल्न खोज्छौँ, कहिल्यै फल्दैनौँ।
अन्त्यमा, जब लायक भनिएको पात्र नालायक हुन्छ, असक्षम हुन्छ, असफल हुन्छ अर्थात पत्रु हुन्छ, उसलाई न रिसाउने हक हुन्छ, न अरूलाई गाली गर्ने अधिकार नै! विडम्बना, नेपाली राजनीति अहिले पनि यसैको वरिपरि छ। जसलाई बाली रुँङ्न भनी खेत जिम्मा लगाइयो, बाली त सत्यनास भयो नै, खेत पनि बिगार्ने काम भएको छ। आज उही गीत गाइरहेको छ रहेको छ– म सर्वोत्तम, बाँकी खत्तम! भोलि जन्मने परिवर्तनबाट बन्ने देश पनि यस्तै हो।
प्रतिक्रिया
yusab sakota
2021-02-11 16:00:37Lekh ramro xa , sama-samayik lagyo.