सर्लाहीः जिल्लाकाे ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय शिवजी साह रहेका छन्।
एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएकाे हाे। उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।
घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। उनका अनुसार यही वैशाख २० गते घरअगाडिको आँपको बगैँचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएर फरार भएको साहमाथि आरोप रहेकाे छ।
शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारका लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते निधन भएको थियो।
घटनापछि फरार भएका साहलाई मलङ्गवा नगरपालिका–५ भाडसरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साह वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा बसेर फर्किएका थिए। उनी फर्किएको २४ घण्टा नबित्दै उक्त घटना भएकाे स्थानियवासीले बताएका छन्।
प्रतिक्रिया