हुम्लाः सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद निधन भएको छ। मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको शंकास्पद निधन भएको हो।
आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ। गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने डाेरीले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन्।
स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको निधनलाई केही स्थानीयले आत्महत्या भनेर प्रचार गरे पनि प्रहरीले भने शङ्कास्पदरूपमा लिएको छ।
घटनाको खबर पाए लगत्तै दोजम प्रहरी चौकीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाको निधन रहस्यमय भएकाे निश्कर्ष निकालेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली घटनास्थलमा पुगेको छ।
मृतक बालिकाको शवलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर शव परीक्षण गरिने भएको छ।
प्रतिक्रिया