दाङः पार्किङमा राखिएकाे कारमा मृत भेटिएका तीन जना बालककाे पहिचान खुलेकाे छ। जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-६ मा भारतीय नम्बर प्लेटकाे आरजे ०१ सीसी ०८८५ नम्बरकाे कारमा भेटिएकाे शवकाे सनाखत भएकाे हाे।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दकाअनुसार मृतक तीन जना बालक नै तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ वर्षीय छोरा करण परियार हुन्।
तीनैजना बालक बैशाख १६ गते अपराह्नदेखि हराएका थिए। १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा हराएका बालक खाेजिदिन अभिभावकले निवेदनसमेत दिएका थिए। शनिबार साँझ उनीहरू गाडीमा मृत अवस्थामा भेटिएका थिए।
घटनास्थलमा फेला परेकाे भारतीय गाडी गत माघ १ गतेदेखि नै पार्किङ गरी राखिएको प्रहरीले जनाएकाे छ। हाल अनुसन्धानका लागि गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर उनीहरूकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक बालकहरूका परिवारजनले आफ्ना सन्तानको हत्या भएको दाबी गर्दै हत्यारा पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।
प्रतिक्रिया