लेटेस्ट न्युज
advertisement1

नयाँ वर्ष, नयाँ सोच : नयाँ राजनीति, नयाँ नेपाल

नयाँ वर्ष, नयाँ सोच : नयाँ राजनीति, नयाँ नेपाल

इस्वी संवत् होस् या विक्रम संवत् या नेपाल संवत् नै, हरेक वर्ष नयाँ जोश जाँगरका साथमा नयाँ शुभकामना लिएर नयाँ पात्रो पल्टिन्छ अनि नयाँ नयाँ सोचहरु सल्बलाउँछन् । नयाँ नयाँ बाचा लक्षहरु तय हुन्छन् । थोरै साकार हुन्छन् र अधिकांश नयाँ आउने दिनका नयाँ विचारसँगै बिलिन भएर हराउँछन् , हामी आफैले धेरै नयाँ वर्षहरुमा नयाँ नयाँ नमुनाहरु प्रयोग गरेर केहीमा सफल त धेरैमा असफल भएको हुन्छौँ ।

सायद यो परीक्षण नियम अधिकांशले प्रयोग प्राप्ती गर्नु भएको होला र आआफ्नै अनुभव होलान् – दत्त चित्त भएर लागि परेका नयाँ लक्षहरु साकार भएको अनुभव होला नै । यो नयाँ बर्षमा तपाईँ हामी सबैको नयाँ नयाँ सोचहरु, नयाँ नयाँ बाचा-लक्षहरु अन्य वर्षभन्दा अझ बढी मात्रा र गुणस्तरमा सफल बनुन् भन्ने कामना सहित यो लेख फेला पार्नुहुने सबै पाठकहरुमा ढिलै भएपनि नयाँ बर्ष २०७८ को खर्बौ खर्ब हार्दिक मंगलमय शुभकामना !

यसअघिका नयाँ वर्ष ताका नयाँ नेपालको निर्माण खातिर प्रशस्तै मात्रामा नयाँ राजनैतिक शक्तिको बहस चल्यो । नयाँ नयाँ सोच लिएर विद्यमान राजनैतिक वरिष्ठ वरिष्ठ नेताहरु मुलधारका तथा वैकल्पिक धारका राजनैतिक दलहरु जुट्ने फुट्ने, जोड्ने तोड्नेजस्ता नयाँ नयाँ अभ्यास हुने क्रम निरन्तर चलिरहेको देखिरहेका छौँ । नयाँ ढंगबाट आ-आफ्नो विचार तथा पार्टीलाई नयाँ राजनैतिक शक्तिको रुपमा उठाउन केही पुस्ता अगाडि बाटै प्रयत्न नगरेका होइनन् । बिशे नगर्ची, लखन थापा, दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल, कृष्ण प्रसाद कोईराला,  बिपी कोइराला, मात्रिकाप्रसाद कोइराला, गणेशमान, कृष्ण प्रसाद, पुष्पलाल, मनमोहन, मदन भण्डारी, गिरिजा प्रसाद कोईराला, शुशिल कोईराला लगायतका जान नाजान हस्तीहरुका कुराहरु त इतिहासको ठेली भित्र गाभिईसके ।

देशलाई कायापलट नै गराउन १० बर्षे रक्तपातपूर्ण कहालीलाग्दो जनयुद्ध समेत राजतन्त्रलाई विस्थापन गर्न र सामान्य राजनैतिक प्रारुप बदल्न बाहेक थप उपलब्धी बेगर नै ईतिहासको चाङभित्र लुकिसक्यो । हरेक समान्तरालमा कतिपय युवा पुस्ताहरु आफ्नै पुराना नेताहरुका काम गर्ने तौर तरिका, सोच र कार्यशैलीप्रति असन्तुस्ट रहेको अभिव्यक्ति बेला बेलामा सुनेका पनि छौँ । 

केही समय आगाडिको कुरा गर्नु पर्दा नेपाली कांग्रेस भित्र विश्वप्रकाश शर्मा, गगन थापा, धनराज गुरुङ्ग, प्रदीप पौडेल,  एमालेमा घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण बिष्ट लयागतलाई माउ पार्टीका पुराना अग्रजहरुभन्दा पृथक ढंगबाट अगाडि बढ्ने सोच बोकेका युवा नेता मानिन्थ्यो ।

अझ पुराना नेताहरुको कार्यशैलीबाट चित्त नबुझेर राजनैतिक नयाँ शक्तिको आवश्यकतासम्बन्धी छलफललाई राजनैतिक वृत्तबाट एमाले युवा नेता घनश्याम भुसाल, एमाओवादी नेता राम कार्की, नेकपा संयुक्तका नेता सुनिल मानन्धर एवम् राजनैतिक विश्लेषक मुमाराम खनाल लगायतले २०७० बैसाखमा राष्ट्रिय सभागृहबाट नयाँ राजनैतिक शक्तिको आवश्यक्ता बारे सार्वजनिक बहस समेत गरेका थिए ।

राजनैतिक नयाँ शक्तिको बहस सेलाए पनि, निरन्तर नयाँ नयाँ अनुहार र पात्र निस्किरहनु नेपालमा रहेका मुलधारका राजनैतिक दलहरुको विकल्पमा नयाँ राजनैतिक शक्तिको आवश्यकता खड्की नै रहेको कुरामा द्विविधा छैन । हरेक नेपाली नागरिक आफ्नै जीवनकालमा शान्त र समृद्ध नेपालको सपनालाई विपनामा बदल्न व्यग्र रहेकोमा कुनै शंका रहँदैन । 

एकताका त राजनैतिक वृत्तभन्दा बाहिर पनि नयाँ राजनैतिक शक्तिको आवश्यकताको बारेमा निकै गर्मागर्मी बहस चलेको थियो । प्रेम बानियाँले २०७० साल फागुनमा टेलिभिजन कार्यक्रम मै बहस चलाएर युवा नयाँ शक्तिलाई बाटो छोड्न पुराना नेतृत्वलाई चुनौती समेत दिएका थिए । तत्कालीन बिबिसीका पत्रकार रवीन्द्र मिश्र २०७० फाल्गुन ३० गते इकान्तिपुरमा “निर्णायक शक्तिको उदय सम्भव छ” भन्ने लेखमार्फत विद्यमान समृद्धि र विकास हाम्रै कालमा भोग गर्न र आफ्नै जीवनकालमा देश परिवर्तन भएको हेरेरै मर्ने हो भने गर्ने अहिले हो, भोलि ढिलो भइसक्नेछ राजनीतिभित्र र बाहिर जो९जो नयाँ शक्ति निर्माणको बहसमा सामेल छन्, ती सबैले आँट निकालेर एकतित्र हुने समय यही हो भनेर युवा पुस्तालाई घच्घच्याउने काम गरेका थिए। 

रवीन्द्र मिश्रजस्तै  मुमाराम खनाल ई-कान्तिपुर २०७० चैत्र २५ मा लेख्छन् “नयाँ शक्तिको आवश्यकता र आधार”  उनी बिद्यमान राजनीतिक दलहरूको आन्तरिक संरचना र नेतृत्वको प्रवृत्ति हेर्दा मुलुकको आवश्यकतालाई पूर्ति गर्ने कार्यक्रम, इच्छाशक्ति र नेतृत्व केही पनि देख्दैनन् । उनी भन्छन्  दलहरूलाई पटक पटक गल्ती गर्न र सुध्रिने नाममा अब नेपाल र नेपालीलाई अनिर्णित बनाउन सकिँदैन।

त्यस्तै अप्रिल ३, २०१४ को नेपाल सन्देशमा  रवीन्द्र श्रेष्ठ लेख्छन्, “नयाँ नेपालका लागि नयाँ शक्ति” नयाँ शक्तिको उदय अपरिहार्य देख्छन् उनी । विद्यमान राजनीतितिक नेतृत्वभन्दा नेपाली जनताको चेतनास्तर निकै माथि उठिसकेको अवस्थामा क्षमतावान युवा पुस्ताले हामीभित्र भएको राजनीतिक आस्था र विचारलाई थाँती राखेर राष्ट्रनिर्माणको निमित्त आफ्नो भित्रि इच्छा शक्तिलाई जगाउनु पर्ने उनको तर्क थियो । 

कान्तिपुर १४ जेष्ठ २०७१ मा रमेश पोखरेल, डा. नवराज खतिवडा र डा. सूर्यराज आचार्यले “यस्तो हुनु पर्छ नयाँ  शक्ति” लेख मार्फत “नयाँ शक्तिको स्पष्ट र बृहत परिभाषाको खोजी” गर्ने कार्य समेत गरेका थिए, भने उक्त लेखमा नयाँ राजनीतिक शक्तिको सिद्धान्त, संरचना सदस्यता र कार्यविधिबारे प्रष्ट चर्चा समेत गरिएको थियो  ।

राजनैतिक नयाँ शक्तिको बहस यत्तिमै सीमित रहेन । साउन १७, २०७१ को सेतोपाटीमा भावती पाण्डेको “यस्तो हुन्छ नयाँ शक्तिस् बाबुराम भट्टराई” त्यस्तै, जुलाई ९, २०१४ को हस्त लिखित पोष्टमा हरिश सागरको, “नयाँ शक्ति र समृद्द भबिष्य”, सेप्टेम्बर ९, २०१४ सुन्दर खड्काको रातोपाटी, आश्विन १, २०७१ को सेतो पाटीमा उज्वल थापाको “सकारात्मक शक्तिलाई केले रोकेको छ रु” उत्तम संजेलले आश्विन २१, २०७१ सेतोपाटीमा लेखेको “खाँचो बैकल्पिक शक्तिको” नारायण भुषालको २३ सेप्टेम्बर २०१४ को सेतो परेवामा लेखेको “रबिन्द्र मिश्रलाई खुला पत्रः कहाँ गयो नयाँ शक्तिको कुरा रु” र अधिवक्ता कपिल देव ढकालको नोभेम्बर ५, २०१४ मा “बाबुरामको नयाँ शक्तिको भयो ठण्डाराम” आदि शिर्षकका राजनैतिक “नयाँशक्ति” सम्बन्धी बहसहरुले मूल प्रवाहका ठूला राजनैतिक वृत्त भन्दा बाहिरका सचेत युवा तथा बुज्रुक आमनागरिक समृद्ध नेपाल निर्माण गर्न स्पष्ट पुनर्संरचना गर्ने क्षमता राख्दछन् भन्ने सन्देश दिएको थियो ।

यसका अतिरिक्त हजारौँ हजार युवाहरुले विभिन्न माध्यमा मार्फत नयाँ राजनैतिक शक्ति निर्माण गर्न सिर्जनात्मक विचार राख्ने एवम् सबैको एकमत बनेको थियो । युवा पुस्ताहरु जुर्मुराउन थालेपछि डा. बाबुराम भट्टराईले पुरानो नेतृत्व, पुरानो सोच र शैलीबाट राष्ट्रको उन्नति हुन नसक्ने र युवा पुस्ताले पुराना राजनैतिक शक्तिलाई विस्थापित गरेर नायाँ शक्तिको उदय हुनु पर्ने कुराको आवश्यकता साँच्चै महशुस गरेर हो वा युवाहरुको रापिलो सोच मत्थर बनाउन हो नयाँ शक्तिको रुपमा राजनैतिक दलको नाम नै नयाँशक्ति राखेर नयाँ राजनैतिक शक्ति जन्माउने उद्घोष समेत गरेका थिए । उनको राजनैतिक धार जे जस्तो भएपनि ठूलै तामझाम गरेर युवा पुस्तालाईअर्को एक पटक घच्घच्याउने काम गरेका थिए । भलै अहिले उनी आफै “भुईंमा हो कि भाँडामा, गहिरामा हो कि डाँडामा” भन्ने  अवस्थामा किन नहुन् ।

विद्यमान राजनीतिक मूल प्रवाहभन्दा बाहिरबाट पनि उज्वल थापा, गोबिन्द नारायण लगायत उद्यमी जोशिला युवा समूहले त अझ युवा वर्गले आफ्नो जिम्मेवारी पुरा नगरेकाले यो राष्ट्र पछाडि परेको निचोड निकालेर ‘विवेकशील नेपाली पार्टी’ नै खोलेर ‘नेपालमा विद्यमान राजनैतिक कुसंंस्कार बदल्ने, राष्ट्र निर्माणको नेतृत्व युवा पुस्ताले बोक्ने अनि आफ्नै जीवनकालमा शान्त अनि समृद्ध नेपाल निर्माण गर्ने’ भन्दै युवा नेतृत्व अभियानमा जुटेका थिए । विवेकशील नेपालीको मूल सन्देश नै थियो कि आफ्नो देश बनाउन आफै लागि परेर अगाडि नबढ्ने हो भने कसैलाई पनि अरुको कुरा काट्ने र आफ्नो देश खत्तम भो बर्बाद भो भन्ने अधिकार छैन । हाम्रो देश हाम्रो घर हो डेरा होइन यसलाई आफैले बनाउने हो उनीहरुले भनेर प्रयास नगरेका पनि होईनन् ।

अबका बुज्रुक युवा नयाँ पुस्ताले लाखौँ देशभक्त कर्मठ अनि मेहेनती नेपाली युवा शक्तिलाई देशमै काम गर्न सक्ने वतावरण बनाउनु, सबै नेपालीमा भाइचारा अनि सहिष्णुता कायम गर्नु अनि समानताको भाव जागृत गरेर नेपाल र नेपालीको समृद्धिमा समर्पित हुनु पहिलो कर्तव्य हो ।
 

तत्कालीन बिबिसीका पत्रकार रवीन्द्र मिश्रलगायत विभिन्न पेसागत व्यावसायिक व्यक्तिहरूले केही वर्ष अगाडिदेखि यस्तो शक्तिको आवश्यकता र सम्भावनाबारे छलफल मात्र चलाएनन् ‘साझा पार्टी’ नै खोलेर विवेकशील नेपाली पार्टीसंग जुटेर बनेको ‘विवेकसील साझा पार्टी’ मार्फत् देश विदेशबाट शिक्षित युवाहरुलाई सम्बोधन गर्दै आएको देख्दै छौँ।

यसै गरी नेपालको राजनैतिक मूल प्रवाहको हिसाब किताबमा गणना नभईसके पनि सैद्धान्तिक रुपमा ठूलो अर्थ र महत्व राख्न सक्ने सम्भावना बोकेको डा. निर्मलमणी अधिकारीको ‘मौलिक जरोकोलो अभियान नेपाल’ तथा ‘राज्यराष्ट्र सिद्धान्त’ नेपालको भूराजनैतिक तथा सामाजिक परिवेशमा निकै उर्वर हुन सक्ने सम्भावना देखिन्छ ।

त्यस्तै भरत दाहालको ‘त्रिमुल नेपाल’, ज्ञानेन्द्र शाहीको भ्रष्ट्राचार बिरोधी अभियान ‘हाम्रो नेपाल हामी नेपाली’ लगायत कैयौँ नयाँ नयाँ अनुहार जुर्मुराई रहेको कुरा समाचार र सामाजिक सञ्जालबाट खबरहरु थाहा पाई नै रहेका छौँ । यस्तै राजनैतिक नयाँ शक्तिको बहस सेलाए पनि, निरन्तर नयाँ नयाँ अनुहार र पात्र निस्किरहनु नेपालमा रहेका मुलधारका राजनैतिक दलहरुको विकल्पमा नयाँ राजनैतिक शक्तिको आवश्यकता खड्कि नै रहेको कुरामा व्दिविधा छैन । 

हरेक नेपाली नागरिक आफ्नै जीवनकालमा शान्त र समृद्ध नेपालको सपनालाई विपनामा बदल्न व्यग्र रहेकोमा कुनै शंका रहँदैन । अहिले मुलधारमा रहेका राजनैतिक दलहरु बिशेष गरी नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीले नेपालको राजनैतिक तथा विकासका मुद्धाहरुलाई गिजोलिरहेको परिस्थितिमा नयाँ राजनैतिक धारसम्बन्धी उपर्युक्त व्यक्ति, समूह तथा दलहरुले एउटै छाताभित्र आएर उपयुक्त धारणा, उपयुक्त मुद्धाको सम्बोधन र उपयुक्त कर्म गरेको खण्डमा छोटो समयमा नै मूलधारमा आउन सक्छ ।  हो,  बोल्नु पर्यो, गर्नु पर्यो, चुप लागेर बस्नु पनि कति ?  जन्मेर चेत खुलेदेखि नै राजनैतिक अस्थिरता र आर्थिक विपन्नता भोग्दा भोग्दै आएका हामी नेपाली आफ्नो देशमा भने न त राजनैतिक स्थिरता, न त सामाजिक सद्भाव, न त धार्मिक सम्मान, न त आर्थिक समृद्धि नै पायौँ ।  

राणा शासन, प्रत्यक्ष राजतन्त्र, राजतन्त्रात्मक बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्मको अनुभव त लिई नै सकियो तर राष्ट्रको उन्नतिमा खास तात्त्विक अन्तर परेको छैन ।  राष्ट्र निर्माणको चाहना, क्षमता र तत्परतालाई उचित बाटोमा हिँडाउने र संस्थागत गर्ने भनेको राजनैतिक र प्रशासनिक नेतृत्वको नै हो ।  विद्यमान नेपालको राजनैतिक चरित्र हेर्दा कुनै पनि वादका नेतृत्वलाई कुनै पनि वादका नेतृत्वसँग जुट्न र फुट्न सिद्धान्तले छेकेको छैन भने साँच्चै राष्ट्र निर्माण गर्ने हो भने सिद्धान्तले कसैलाई छेक्दैन भन्ने प्रमाण हो । 

प्रत्येक सेकेन्ड सेकेन्डमा संसार अपडेट भई रहेको छ भने त्यो सँग सँगै अहिलेको नयाँ पुस्ता पनि अपडेट भई नै रहेको छ । हो, यो पुस्ताको समाजलाई सञ्चालन र व्यवस्थापन गर्न सक्ने राजनैतिक र प्रशानिक नेतृत्व हामीलाई चाहिएको छ । समस्या पुरानो सोच, संस्कार र संरचना बोकेको पुस्ताबाट भएको हो । पुराना पुस्ताको म्याद भनेको नयाँ आर्थिक बर्षको सुरुवात २०७८ असार ३१ रातको १२:०० भन्दा एक सेकेण्ड पनि ढिलो हुनु हुँदैन । अहिलेसम्म पुराना पुस्ताले जसले जे जस्तो गर्न सके राम्रो भयो, सकेनन् हामीलाई कुनै गुनासो छैन किनकि यो सम्म हुनुमा हाम्रो ठूलो दोष छ ।

हामी आजसम्म उनीहरुसँग भर परेर राम्रो गरी देलान् भनेर आशा गरेर बस्यौँ ।  यो सुजबुझ युवा पुस्ताले त्यो पर्खेर बस्नु हुँदैन थियो । उनीहरुलाई हामीले अत्याधुनिक समाजको ज्ञान, सहारा, अनि आराम दिनु पर्थ्यो  । जीवनको उत्तरार्धमा आराम गरेर सेवा निवृत्त जिन्दगी बिताउने उनीँहरुको अधिकार सुनिश्चित गरिदिनु पर्थ्यो, किनकि उनीहरु त कोही या आधुनिक विषयवस्तुको ज्ञान नै नभएका छन् ।  कोही रोगी छन् त कोही बृद्ध छन् ।  अवकाश प्राप्त जिवन जिउने  ।

अबको पुस्ताले बुझेको कुरा वैज्ञानिक, सामाजिक एवम् आर्थिक विकासले मात्र राजनैतिक विकास सम्भव हुन्छ्र ।  वैज्ञानिक, आर्थिक र सामाजिक इन्द्रियहरु खोल्नु पर्छ अनि निजी एवम् व्यक्तिगत प्रभावलाई निस्तेज गर्ने संयन्त्र स्थापित गर्नु पर्छ ।संसारमा स्थापित नयाँ नयाँ प्रविधि भित्र्याउनु पर्छ र अत्याधुनिक समाज सुहाउँदो पद्धति बसाल्नु पर्छ । तँ र म अनि तेरो र मेरोलाई बिर्सेर हामी र हाम्रो पुस्ता, समाज अनि देशलाई उन्नति गर्नतर्फ लिएर हिँड्नु पर्छ । युवा पुस्ताले बल, जाल, झेल, तिकडम प्रयोग गर्ने प्रकृतिको राजनीति पटक्कै गर्दैन । राज्य सञ्चालनको न्यूनतम शर्तहरु राजनैतिक शुद्धीकरण, प्रशासनिक सुधार, आर्थिक उन्नति, सामाजिक विकास, परराष्ट्र मामिला, रक्षा रणनीति, विज्ञान, प्रविधि र विकास तथा अनुसन्धानसम्बन्धी प्रष्ट खाका भने कोर्नु पहिलो शर्त हो । 

विरोध, बन्द, हड्ताल, युद्ध र निषेधको राजनीति भने नयाँ पुस्ताको  पटक्कै होईन । अबको बुज्रुक युवा नयाँ पुस्ताले लाखौँ देशभक्त कर्मठ अनि मेहेनती नेपाली युवा शक्तिलाई देशमै काम गर्न सक्ने वतावरण बनाउनु, सबै नेपालीमा भाइचारा अनि सहिष्णुता कायम गर्नु अनि समानताको भाव जागृत गरेर नेपाल र नेपालीको समृद्धिमा समर्पित हुनु पहिलो कर्तव्य हो ।  अब नयाँ पुस्ताले नयाँ सोच र नयाँ जोशका साथ बदलिँदो विश्व परिस्थितिसँग समन्वय गर्दै देशलाई समृद्धि र सामाजिक न्यायको मार्गमा लैजान, ज्ञान, बुद्धि, विवेक अनि संयमताका साथ काम गर्नु अत्यावश्यक देखिएको छ ।

अनेकतामा एकता भाइचारा सम्बन्ध बिस्तार गर्नु, नकारात्मक संस्कार बदल्नु, वैज्ञानिक प्रणाली बसाल्नु, जवाफदेही र जिम्मेवार प्रशासक अनि राजनीतिक नेतृत्व निर्माण गर्न सकेको खण्डमा नेपाल र नेपालीले खोजेको वैभव आफ्नै जीवनकालमा सम्भव हुने कुरामा दुई मत नहोला  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

33.33%

खुसी

0%

दुःखी

0%

अचम्मित

61.11%

उत्साहित

5.56%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्