काठमाडौं। संवैधानिक परिषद्ले संवैधानिक आयोगहरूमा रिक्त पदमा विभिन्न व्यक्तिलाई नियुक्त गरेको छ। आज (बुधबार) बिहान नियुक्त संवैधानिक आयोगका पदाधिकारीहरूले शपथ ग्रहणसमेत गरिसकेका छन्।
यद्यपि शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र समामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भए। सभामुख सापकोटाले गत आइतबारै संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति सिफारिसप्रति असहमति जनाउँदै त्यसको सक्कल प्रति नै फिर्ता पठाइदिएका थिए।
गत पुस ५ मा संवैधानिक परिषद्ले संवैधानिक आयोगको रिक्त पद पूर्तिका लागि पत्र संसद सचिवालय पठाइएको थियो। प्रधानमन्त्री आफैंले प्रतिनिधि सभा विघटन गरिसकेको र संसदीय सुनुवाइ समिति पनि प्रतिनिधि सभाकै हिस्सा भएकाले सुनुवाइ गर्न नमिल्ने सापकोटाको तर्क थियो।
गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तिको नियुक्तिका लाग सिफारिश गरेको थियो। सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सुनुवाइको सामना गर्नु परेन। संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ।
यसअघि हिजो मङलबार प्रधानमन्त्रीले संवैधानिक परिषद् बैठक बोलाए पनि नबसी अनिश्चित भएको थियो। तर आज बिहान एकाएक प्रधानमन्त्रीले संवैधानिक निकायमा नियुक्त गरी राष्ट्रपतिसमक्ष नियुक्त भएका प्रमुख आयुक्त र आयुक्तहरूलाई शपथ ग्रहण गराएका हुन्।
प्रतिक्रिया