एजेन्सी । दक्षिण एसियाली मुलुक म्यानमारमा सेनाले कू गरेको छ । सोमबार बिहानै सेनाले विभिन्न प्रजातन्त्रवादी नेताहरू आङ सान सूकी लगायत अन्यलाई पक्राउ गरेर सैनिक कू गरेको हो ।
गत निर्वाचनको नतिजाको विषयमा सरकार र सेनाबीच विवाद बढ्दै गएपछि सेनाले कू गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ ।
सूकी लगायतका नेतालाई पक्राउ गरिएको केही घण्टापछि सेनाको टेलिभिजन च्यानलले मुलुकमा एक वर्षे ‘संकटकाल’को घोषणा गरेको थियो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार सोमबार सेनाले कू गरेपछि म्यानमारको राजधानी नेपितमा र म्यानमारको प्रमुख व्यापारिक सहर रंगुनमा सञ्चार सेवा पूर्णरुपमा अवरुद्ध गरिएको छ भने बैंकहरूपनि बन्द गरिएको छ । म्यानमारको प्रमुख सहर रंगुन सेनाको कब्जामा रहेको छ । टेलिभिजनमा सेनाको च्यानलमात्र खुलिरहेको छ । अन्य टेलिभिजन च्यानल अवरुद्ध गरिएको छ ।
गत नोभेम्बरको निर्वाचनमा सूकीको दल नेसनल लिग फर डेमोक्रेसीले जारी भएकोमध्ये कुल ८३ प्रतिशत मत प्राप्त गरेको थियो । सेनाले भने यसलाई फर्जी मतको संज्ञा दिँदै आएको थियो । सोही विवाद चुलिएर आज सेनाले कू गरेको बताइएको छ ।
सन् २०११ मा भएको प्रजातान्त्रिक परिवर्तन हुनु अघिसम्मपनि म्यानमारमा सैनिक शासन नै रहेको थियो । यससहित १० वर्षको अवधिमा म्यानमारमा अर्काे सैनिक कू भएपछि अन्तराष्ट्रिय समुदाय चिन्तित रहेको छ ।
प्रतिक्रिया