लेटेस्ट न्युज
advertisement1

जनकपुरमा महामूर्ख र पटमूर्खको खोजी तीव्र

Maryada News 2021-03-24 12:54:40
जनकपुरमा महामूर्ख र पटमूर्खको खोजी तीव्र

धनुषाः प्रदेश नम्बर २ मा पर्ने मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ। जनकपुरधाममा हरेक वर्ष महामूर्ख र पटमूर्ख खाेज्ने परम्परा रहेकाे छ।

आश्चर्य लाग्दाे याे परम्पराले वर्षौंंदेखि निरन्तरता पाइरहेको छ। हाेलीकाे सन्दर्भमा यस क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी भएकाे हाे। 

समान्यतया महामूर्खको उपाधिले ग्लानी र हीनताबोध गराउँछ। तर मिथिलाञ्चल क्षेत्रमा यो उपाधिका लागि निकै प्रतिस्पर्धा हुने गरेको पाइन्छ।

राजनीतिकर्मी बजरङ्गप्रसाद साहका अनुसार जनकपुरधाममा होलीकाे सन्दर्भमा यो उपाधिकाे महत्वपूर्ण स्थान रहेको छ। आफूले पनि २०३६ सालमा जानकी मन्दिर परिसरमा आयोजित होली उत्सवमा कानूनविद् गिरिशचन्द्र लाललाई महामूर्खको उपाधि प्रदान गरेको उनले बताए।

सोही उत्सवमा विमलेन्द्र निधि, वृषेशचन्द्र लाल, समीर घिमिरे, प्रेमकिशोर साहलगायतले तत्कालीन राजालाई व्यङ्ग्य गरी मञ्चबाट महामूर्खको सङ्ज्ञा दिएका थिए। साेही कारण महामूर्खकाे पद शासक वर्गको बक्रदृष्टिको शिकार हुन पुगेको बताइन्छ।

शासक वर्गको बक्रदृष्टि भएपछि विभिन्न युवा क्लबहरूले हाेलीलाई रङ उत्सवका रूपमा मनाउन थालेको देखिन्छ। केही वर्षयता महामूर्खको उपाधि प्रदानमा सम्बन्धित निकाय मौन देखिए पनि मिथिला नाट्य कला परिषद्ले यसलाई जीवन्तता दिएको पाइन्छ। परिषद्ले २४ वर्षदेखि महामूर्खको उपाधि प्रदान गर्दै आएको छ।

हालसम्म महामूर्खको उपाधि पाउनेमा ओमकुमार झा, नरेश ठाकुर, हरिबहादुर बिसी, डा राजेन्द्र विमल, रामचन्द्र झा, रामसरोज यादव, सिके लाल, शीतल झा, लालकशिोर साह र लालबाबु राउतलगायत छन्।

सामाजिक संस्कृतिको अङ्गका रूपमा विद्वत वर्गदेखि राजनीतिकर्मीलाई व्यङ्ग्य र सम्मानमूलक रूपमा सो उपाधि प्रदान गरिँदै आएको छ। यस वर्षकाे महामूर्ख उपाधि यही चैत १५ गते जानकी मन्दिर परिसरमा प्रदान गर्ने जनाइएको छ।

यस पटक महामूर्खको चयन निकै चासोको विषय बनेको छ। चयन समितिका संयोजक श्यामसुन्दर शशि युद्धस्तरमा महामूर्ख र पटमूर्खको खोजी जारी रहेको बताउँछन्। यसपटक एक जनालाई महामूर्ख र सात जनालाई पटमूर्खको उपाधि प्रदान गरिनेछ। २५औँ महामूर्ख उपाधिका लागि नाम आउने क्रम जारी रहेकाे शशिले बताए।

महामूर्ख उपाधिमा सम्मान र व्यङ्ग्य समाहित भएकाे हुन्छ। मिथिलावासी विद्याप्रेमी रहेका तथा यहाँ विद्वानहरूको कदर गरिने परम्परा रहेको तथ्य राजा जनकका राजसभाबाट ज्ञात हुन्छ। महामूर्खको उपाधि पाउनेमा साहित्यकार, अभियानी, संस्कृतिकर्मी, समाजसेवी, कलाकर्मी, लेखक र राजनीतिकर्मी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्