लेटेस्ट न्युज
advertisement1

यमपञ्चकको चौथो दिन : गाई, गोरु र हलि पूजा गरि मनाइयो

Maryada News 2021-11-05 16:18:30
यमपञ्चकको चौथो दिन : गाई, गोरु र हलि पूजा गरि मनाइयो

काठमाडौँ : यमपञ्चकको चौथो दिन शुक्रबार(आज) गाई, गोरु र हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यही मान्यताका आधारमा आज गाईपूजा गरिएको हो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

वर्षभर कृषि कर्म गर्ने कृषक र जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिइयो । यसैले आजको दिनलाई हल तिहार पनि भनिन्छ ।

गरियो गोवर्द्धन पूजा
आजै बिहान आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिएको छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको समितिले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्