काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि महिला अधिकारकर्मी रुवी खान रिहा भएकी छन् । सर्वोच्चले बिहीवार (आज) खानलाई तत्काल रिहा गर्न आदेश दिएको थियो।
सोही आदेशअनुसार बिहीवार साँझ प्रहरीले उनलाई रिहा गरेको अधिवक्ता मोहना अन्सारीले जानकारी दिइन् । खानलाई बहुविवाहको आरोपमा पक्राउ गरी प्रहरीले नेपालगञ्ज पु-याएको थियो ।
उनको पक्राउविरुद्ध अधिवक्ता अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज खानलाई रिहा गर्न आदेश दिएको हो ।
रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्नसमेत सर्वोच्चले आदेश दिएको छ । न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ का स्थायी बासिन्दा रुवीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको थियो ।
प्रतिक्रिया