काठमाडाैंः प्रतिनिधि सभाकाे मङ्गलबार बसेकाे बैठकमा नेपाली कांग्रेसका सांसद् दिलेन्द्र प्रसाद बडूले नेपाल-भारत सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धमा नेपाल सरकारले मौन सहमति गरेको आराेप लगाएका छन्।
सीमा क्षेत्रमा निर्माणधिन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय बेखबर भएकाेसमेत उनले बताए।
‘सिडिओले पारीपट्टी पत्राचार गर्दा सुनुवाई भएन। त्यहाँको जनता, पार्टीका नेता र कार्यकर्ताले पटक पटक गृहमन्त्रालयमा ताकेता गरिरहेका छन्। तर, नेपाल सरकार सुतिरहेको छ, बेखबर छ र मौन सहमति गरिरहेको छ।’ सांसद बडूले भने।
भारत सरकारले तीन महिना यता नेपाल सरकारको सहमति र जानकारी बिना नै दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ को पारीपट्टी एकतर्फी रुपमा नेपालकोसमेत जमिन समेटेर तटबन्ध बनाइरहेको छ। सांसद् बडूले तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
विसं २०७० असारमा महाकालीमा आएको ठूलो बाढीले धार परिवर्तन गरेका कारण ३५ हेक्टर नेपालको जमीन पारि पुग्न गएको र उक्त क्षेत्रमा भारतले निर्माण गरिरहेको तटबन्ध दुई देशबीचको सहमति र अन्तरराष्ट्रिय मान्यता विपरीत रहेको उनकाे भनाइँ थियाे।
तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्वर जमीन डुबानमा पर्ने जनाउँदै नेता बडुले संसद बैठकमा नेपालको जमीन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषद्मा कुरा नउठेको र किन सरकार मौन रहेको भनी प्रश्न गरेका थिए।
वर्तमान सरकारले आफूलाई राष्ट्रवादी भन्ने गरे पनि व्यवहारमा नभएकाे पनि सांसद बडूले बताएका थिए।
प्रतिक्रिया