काठमाडाैंः पर्यटक भिसामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएकाे छ। अध्यागमन विभागको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) एक सय ३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो।
पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले बताए। उनका अनुसार कारवाहीस्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागुऔषधलगायत कसूरका धेरै रहेका छन्।
विभागको तथ्याङ्कअनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन्। निष्कासित हुने विदेशी नागरिकलाई कसूरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको महानिर्देशक केसीले बताए।
विभागको तथ्याङ्कअनुसार आठ महिनामा विभिन्न १३ शीर्षकमा ४२ हजारभन्दा बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ। आठ महिनाको अवधिमा बीस हजार एक सय ५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ जसमध्ये फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो।
आठ महिनामा १२ हजार दुई सय १७ विदेशीलाई थप पर्यटक भिसा, एक हजार सात सयलाई व्यावसायिक भिसा, आठ सय ८४ लाई वैवाहिक भिसा जारी गरिएको छ। यस्तै सात सय ३९ अध्ययन भिसा, २५ आवासीय भिसा, दुई हजार नाै सय ९३ नाता भिसा, एक हजार नाै सय १२ जनालाई कामदार भिसा र दुई सय ७२ जनाालाई आश्रित भिसा जारी गरिएको छ।
विभागले आठ महिनामा विभिन्न शीर्षकमा भिसा जारी गरेर रू ४२ करोड २६ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ।
प्रतिक्रिया