सर्लाहीः होली नजिकिएसँगै प्रदेश २ का जिल्लाहरूमा रौनक शुरु भएको छ। यद्यपि होली पर्व आउन अगावै गाउँघरमा राति गुञ्जिने परम्परागत होली गीत भने अचेल लोप हुँदै गइरहेको छ।
वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा (होली) गीत लोप हुन थालेको स्थानीय बूढापाकाहरू बताउँछन्। पहिले गाउँघरमा होली आएको जानकारी फागु गीत गाएर गराइए पनि हाल यस्ता गीत लाेप हुँदै गएकाे लालबन्दी नगरपालिका–७ का उमाशङ्कर साहले बताए।
‘जोगिरा सर..र..र... कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ कौन तालपर गोरिया नाचे कौन तालपर हम’ भन्ने गीत अब कमै सुन्न पाइन्छ', कविलासी नगरपालिका सलेमपुरका समाजसेवी दिनेश रायले बताए।
“पहिलेपहिले त सार्वजनिक ठाउँमा गाउँका मानिस बसेर रातिसम्मै जोगिरा गाउँथे तर अब जोगिरा नसुनेको पनि धैरै भयो”, उनले भने।
समयको परिवर्तन र गाउँका युवा रोजगारीका लागि अन्य मुलुक गएकाले पनि गाउँघरबाट फागु गाउने परम्परा लोप हुन थालेको सलेमपुरकै ठगा साहले बताए।
'होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा न त अब होलीको रौनक छ, न त माधुर्य नै', नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताए।
आपसी प्रेम, भाइचारा र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको उनकाे भनाइ छ। पश्चिमा संस्कृतिको प्रवेशसँगै नेपालीका परम्परागत कलासंस्कृति दिन प्रतिदिन लोप हुन थालेका स्थानीयवासी केदार मैनालीले भने।
नेपालीको विश्वमा आफ्नै पहिचान भएका कारण नेपालीको संस्कृति परम्परा, मूल्यमान्यताको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्ने छोटेलाल साहले बताए।
अहिले स्थानीय सञ्चारमाध्यममा र बजारमा बज्ने होलीका अश्लील भोजपुरी गीतले पनि परम्परागत होली गीतमाथि आक्रमण गरेका छन्। आधुनिकताले गर्दा परम्परा लोप हुँदै गएको छ। सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पार्ने गरेको छ।
प्रतिक्रिया