लेटेस्ट न्युज
advertisement1

यसकारण बन्द भए नेपालका ४० प्रतिशत इँटा उद्योग

Maryada News 2021-01-28 12:39:48
यसकारण बन्द भए नेपालका ४० प्रतिशत इँटा उद्योग

काठमाडौं । नेपालको अर्थतन्त्रमा कोरोना महामारीले व्यापक असर गरेको बेला, महामारीकै कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । देशभर करिब एक हजार आठ सय इँटा उद्योग रहेकोमा झण्डै सात सय २० वटा उद्योगले आफ्नो उत्पादन ठप्प पारेका छन् । 

उद्योग बन्द हुनुको मुख्य कारण भारतीय मजदुर भित्र्याउन नसक्नु हो । कोरोनाका कारण भारतीय मजदुर आफ्नै मुलुक फर्किएकाले इँटा उद्योग लगभग जनशक्ति विहिन भएको छ । 

यस्तै निजी तथा सरकारी निर्माण कार्यमापनि कोरोनाले प्रभावित पारेपछि इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन नगर्नेतर्फ लागेका हुन् ।

नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्यमीले महामारीकै कारण अर्बौं रकम गुमाएको बताउँछन् । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सानसमेत भएको थियो । चित्रकारले भन्छन्–, “४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् । चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।” 

नेपालका इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुरका लागि भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका थिए । चित्रकारले भने, “यस क्षेत्रका तीन लाख मजदुरमध्ये दुई लाख भारतीय मजदुर हुने गरेका थिए ।” 

उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उनकोे बुझाइ छ । उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको उनले गुनासो गरे । इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्काे बाध्यता रहेको चित्रकार बताउँछन् ।

महासङ्घका प्रथम उपाध्यक्ष नारायण सापकोटा बजारमा इँटाको माग नै कम हुँदा समस्या आएको बताउँछन् । मौसममा भर पर्नुपर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको उनले बताए । “कोभिडका कारण धेरै उद्योग पुनः सञ्चालन हुने अवस्थामा छैन”, उनले भने ।

नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार ८०० उद्योग रहेका छन् । सापकोटाको भनाइमा नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ । उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगसँग रहेको छ । उनले भने, “जग्गा बेचेर ऋण तिर्नुपर्ने बाध्यतामा उद्योग छन् ।”

स्वदेशमा उत्पादन हुने भएकाले देशको ठूलो धनराशी विदेशिनबाट बचेको भन्दै उनले सरकारी सहयोग भएमा निर्यातसमेत गर्न सकिने बताए । विगतका वर्षमा भारतीय सीमा क्षेत्रमा नेपालबाट इँटा जाने गरेको उनले स्मरण गराए । 

नेपाली इँटा उच्च गुणस्तरको हुने गर्दछ । पछिल्ला वर्षमा इँटाको विकल्पमा विभिन्न उत्पादन बजारमा आउन थालेपछि निर्माण क्षेत्रमा यसको प्रयोगसमेत घट्दै गएको हो।

महासङ्घले प्रदूषण र लागत घटाएर इँटा उत्पादनका लागि पहल गरिरहेको छ । नेपालका ३३ जिल्लाका व्यवसायी सङ्गठित छन् । हालसम्मको तथ्याङ्कलाई हेर्दा रौतहटमा सबैभन्दा बढी १६० वटा उद्योग छन् । 

। रासस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्