काठमाडाैंः हरेक पाँच वर्षमा गरिँदै आएकाे गैँडा गणना यसपटक पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको छ। पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आज साेमबारदेखि गणना शुरु गरिएको हो।
गणना शुरु भएसँगै सौराहामा औपचारिक उद्घाटन कार्यक्रम गरिँदै छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गणनामा ४० वटा हात्ती र दुई सय जनशक्ति परिचालन गरिएको छ। दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई गणनामा प्रयोग गरिएकाे छ।
कोशीमा दरबन्दी रहेर यी निकुञ्जमा रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ। बरालका अनुसार ४० मुख्य र वैकल्पिक २० गणकलाई गणनामा खटाइँदै छ।
यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारीसमेत खटिएका छन्। गणनामा खटिएकालाई चैत ६ र ७ गते सौराहामा तालीम दिइएको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्ने छ। गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागको नेतृत्वमा भएको हो। विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार गैँडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदै छ।
आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ। गत वर्ष चैत ११ गतेदेखि गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण स्थगन भएको थियो।
सरकारले गत वर्ष गैँडा गणनाका लागि रू एक करोड १० लाख विनियोजन गरेको थियो। आचार्यका अनुसार गत वर्ष केही सामग्री खरिद भएकाले यस वर्ष सरकारले रू ८० लाख विनियोजन गरेको छ। दाताबाट रू २५ लाख हाराहारी सहयोग हुने उनले बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तुु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका सङ्घ संस्थाको सहयोगमा गैँडा गणना शुरु गरिएको हो।
यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्नेछन्। गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतको प्रयोग गरिन्छ। गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ।
पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए। तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए।
नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा रहेको विभागको तथ्याङ्कमा उल्लेख छ। यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको थियाे।
प्रतिक्रिया