लेटेस्ट न्युज
advertisement1

कर्णाली नदीमाथि बेलीब्रिज पुल निर्माण हुने

Maryada News 2021-03-18 15:58:07
कर्णाली नदीमाथि बेलीब्रिज पुल निर्माण हुने

मुगुः कर्णाली नदीमाथि बेलीब्रिज पुल निर्माण हुने भएकाे छ। स्थानीय सरकारले पुल निर्माण गर्ने भएको हाे।

मुगु–हुम्ला लिङ्करोडको मुगु खण्डमा पर्ने छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलीब्रिज निर्माण गर्न लागेको हो। नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीले सो पुल र पुलसम्म पुग्ने सडकको बुधबार शिलान्यास गरेका हुन्।

पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (र्‍याप–३) को प्राविधिक सहयोगमा निमार्ण हुनेछ। बेलीब्रिज निर्माणका लागि रवि चक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँग बोलकबुल गरेर सम्झौतासमेत गरिसकेको निर्माण कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताए।

“विधिवतरूपमा पुलको शिलान्यास भएको छ”, उनले भने, “अब द्रूतगतिमा पुल निर्माणको काम अघि बढ्ने छ।” नदीमा पानी बहाव नबढ्दै दुबैतिर टेवा पर्खाल निर्माण गरिसक्ने पनि उनले बताए।

नगरप्रमुख शाहीले साविकको जिल्ला विकास समितिले भट्टेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का लगाई पुल बनाउने काम रोकेका कारण प्रक्रियामा जान कानूनी समस्या परेको बताउँदै कानूनी प्रक्रिया पूरा गरेर पुल नबनुञ्जेलसम्मका लागि अस्थायी रुपमा भए पनि बेलीब्रिज राख्न गत वर्ष नै नगरसभाले बजेट विनियोजिन गरेको जानकारी दिए।

ग्रामीण पहुँच कार्यक्रम (र्‍याप-३) ले मुगु सदरमुकाम गमगढीबाट हुम्लाको चङ्खेली गाउँपालिका देउलीसम्म जनताको सहभागितामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो।

“नगरपालिकाको सक्रियतामा अब पुल निर्माण हुने भएको छ। दुबैतिरको पुलसम्म पुग्ने सडक बढीमा हप्ता दिनभित्र निर्माण सम्पन्न गर्नेछौँ भने पुल निर्माणदेखि सडक निर्माणमा प्राविधिक सहयोगसमेत गर्नेछौं”, ग्रामीण पहुँच कार्यक्रमका टोलीनेता विष्णुराम विष्टले भने।

ट्रयाक खुला भएको वर्ष दिन बितिसक्दा पनि पुल नहुँदा कर्णाली नदीपारिका रुगा, थार्प, लुम, बाम, लह, लापु र हुम्ला जिल्लाका तल्लो भेगका स्थानीयवासीले सडकको प्रयोग गर्न पाएका थिएनन्। स्थानीय बालकृष्ण लावडले सडक भए पनि सवारी साधन नहुँदा गाउँमा कोही बिरामी भए तीन घण्टा बोकेर जिल्ला अस्पताल मुगु पुर्‍याउन बाध्य हुने गरेको बताए।

मुगु कर्णालीमा बेलीब्रिज निर्माण भएपछि छायाँनाथ रारा नगरपालिकाका साथै हुम्लाका चङ्खेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाउँपालिकाका जनताको सडकसम्म पहुँच पुग्ने छ। पाँच करोड २० लाख ५५ हजार नाै सय दुई रूपैयाँको लागतमा बन्ने यस बेलीब्रिजको लम्बाइ ५५ मिटर रहने छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्