लेटेस्ट न्युज
advertisement1

१२ औं राष्ट्रिय जनगणना शुरु 

Maryada News 2021-09-15 13:50:22
१२ औं राष्ट्रिय जनगणना शुरु 

काठमाडौं : बुधवार (आज)बाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत बुधवारबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो ।

भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर–घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ ।
असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ ।

गणकहरुको तालिमपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने  र विवरण भर्ने काम गर्नेछन् ।

यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ गतेदेखि घरपरिवार सूचीकरण गर्ने, १७ जेठबाट गणकलाई तालिम दिने, २५ जेठबाट मूल गणना कार्य थाल्ने कार्यतालिका थियो । तर, कोरोना महामारीका कारण सो कार्यतालिकाअनुसारको काम स्थगित गरिएको थियो ।

यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो ।

२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको तथ्यांक विभागको अनुमान छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्