काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारबीच पहिलो चरणको वार्ता सकिएको छ। बुधबार बिहान बसेको दुई पक्षबीचको वार्ता सकरात्मक दिशाउन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन्।
आजको बैठक दुई पक्षले आ–आफ्नो कुरा राख्नेमा सीमित भएको बताइएको छ। वार्तामा सरकारी पक्षबाट भट्टराई र गृहमन्त्री रामबहादुर थापाको सहभागिता रहेको थियो भने अर्को पक्षबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए।
सरकारले हिजो गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए। त्यसपछि वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएको थियो।
प्रतिक्रिया