काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल सुरु गर्ने भएका छन्।
मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठक कक्षको अवलोकन गरेका सभामुखले बुधबारदेखि प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसंग परामर्श गर्ने भएका हुन्।
आगामि २३ गतेका लागि बोलाइएको संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सभामुख सापकोटाले सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने संसद बैठकलाई चासोका साथ हेरिएको छ। सत्तारुढ दलभित्र देखिएको राजनीतिक विवाद र विभाजनका कारण बैठक कसरी अघि बढ्ने हो भन्ने सर्वत्र चासो वढेको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन्।
प्रतिक्रिया