लेटेस्ट न्युज
advertisement1

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

2021-10-24 21:46:22
सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

काठमाडौँ : नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भएको छ । सरकार र चन्द नेतृत्वको नेकपाबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो ।

गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र कानुनसम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीहरूलाई रिहाइ गर्ने तथा मुद्दा फिर्तालाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन् । बैठकमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खाती तथा नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

नेकपाका प्रवक्ता प्रकाण्डले बैठक सकारात्मक रूपमा अघि बढेको र केही दिनमै नतिजा निस्कने जानकारी दिए । यसअघि कात्तिक दुई गते गृहमन्त्री खाणको पहलमा नेकपा र नेपाल सरकारबीच तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको थियो ।

त्यसअघि असोज ३१ गते गृहमन्त्री खाणले सहमति कार्यान्वयनबारे सरकारी पक्षसँग तयारी बैठक गरेका थिए । छलफल मुख्यगरी सहमतिको बुदाँ नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाई र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ,’ भन्ने विषयबारे केन्द्रित थियो ।

०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालिन गृहमन्त्री रामबहादुर थापा र सदस्य तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता प्रकाण्ड र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दिपकले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्