काठमाडौं : यसवर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरका पचारै ढोका खोल्ने व्यवस्था गरिने भएको छ। कोरोना महामारी नियन्त्रणमा आउने क्रममा रहेपछि यस वर्ष पशुपतिनाथ मन्दिरमा आउने भक्तजनलाई दर्शन गराउने गरी पशुपति क्षेत्र विकास कोषले तयारी शुरु गरेको हो।
महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिनेछ । गत बुधबार पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनिको पीठिकामा सुनको जलहरी राखिएकाले पनि यस वर्ष महाशिवरात्रिमा धेरै भक्तजन आउने गरिएको छ।
महाशिवरात्रिका दिन भक्तजनलाई विगत वर्षहरूमा जस्तै चार स्थानबाट लाइन लगाएर सहज रुपमा दर्शनको व्यवस्था मिलााइने छ। मूल मन्दिरभित्र भने भौतिक दूरी कायम गराइने छ।
यस वर्ष पनि कोरोनाको जोखिम कायमै रहेकाले महाशिवरात्रिमा पशुपति क्षेत्र आउने भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ। भौतिक दूरी कायम गराउन असहज हुने देखिएपनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन पशुपति क्षेत्र विकास कोषले भक्तजनसँग आह्वान गरेको छ।
यसैगरी विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वास्थ्य शिविर स्थापनाको तयारी भएको छ। गुठी संस्थानसँगको सहकार्यमा महाशिवरात्रिमा पुशपति आउने साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउनेलगायत व्यवस्थापन पनि गरिँदैछ। दर्शनार्थीलाई सहज रुपमा चन्दन बाँड्ने व्यवस्था गरिनेछ।
महाशिवरात्रिदेखि रसिद काटेर गरिने विशेष पूजा पनि शुरु गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। कोरोना महामारीका कारण विशेष पूजा गत वर्ष चैतदेखि नै बन्द भएको थियो।
गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको थियो।
यसवर्ष महाशिवरात्री फागुन २७ गते परेको छ ।
प्रतिक्रिया