लेटेस्ट न्युज
advertisement1

सुरु भयो स्वस्थानी व्रतकथा

Maryada News 2021-01-28 16:14:19
सुरु भयो स्वस्थानी व्रतकथा

काठमाडौं । नेपालका हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक मनाउने श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आज (बिहीबार)देखि सुरु भएको छ । 

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हरेक दिन स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वाससमेत प्रगाढ रहेको छ । 

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिइसकेको छ । हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि कोभिड–१९ को महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर मेला सञ्चालन गरेको हो । 

कोभिड–१९ को महामारीको कारण शालीनदी मेलाका लागि समितिले बढीमा ५० जना व्रतालु राख्ने गरी व्रत पूजा सञ्चालन गरेको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए । गत वर्ष व्रतालुको सङ्ख्या ३०० भन्दा धेरै थियो । यो वर्ष कोभिड–१९ को महामारीका कारण समितिले ५० को सङ्ख्या तोकेको हो । 

व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालुहरू र भक्तजनहरुबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा छेकबार लगाएर ठाउँ खाली गरिएको छ । 

साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्दछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्