काठमाडाैंः हिन्दु तथा बाैद्ध धर्मावलम्बीले असीम आस्थाका साथ पूज्ने सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनःनिर्माण काम सुरु भएको छ। असनमा रहेकाे मन्दिरकाे संरक्षण तथा पुनःनिर्माण कार्यकाे शुभारम्भ नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्तरूपमा भूमिपूजा गर्दै भएकाे हाे।
सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको रू पाँच अर्ब ८० करोड आर्थिक सहयोगअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो। सन् २०१७ मा ती सम्पदाको पुनर्निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप पुनःनिर्माण गरिने छ। कार्यक्रममा दिइएको जानकारीअनुसार सबै सम्पदाको पुनःनिर्माण गर्ने क्रममा तिनको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्री प्रयोग गरिने छ भने मन्दिरको साजसज्जा तथा काष्ठकलासम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान दिइनेछ ।
०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएकाे उक्त मन्दिर १० औँ शताब्दीमा मल्ल कालमा निर्माण गरिएको विश्वास गरिन्छ। सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजार्चना गर्दै आएका छन्।
प्रतिक्रिया