काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तथ्य र प्रमाणको आधारमा कुनै पनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिबद्धता जनाएका छन्।
घट्टेकुलो समाजले शनिबार काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले बिनापूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर आफूले भ्रष्टाचार नियन्त्रणको काम कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन्। त्यस्तै निर्दोष व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि कारबाही गर्ने उनको चेतावनी छ।
‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हटने छैन।’ उनले भने, ‘तर निर्दोष व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने क्रियाकलाप रहनेछैन।’
प्रमुख आयुक्त राईले आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने अठोट व्यक्त गरेका छन्।
नागरिकको अपेक्षा र सञ्चार माध्यमले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्टाचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानुनसम्मत ढङ्गले काम गर्ने उनको भनाई छ ।
उनले थपे, ‘नागरिक समाज र जनताको अपेक्षा नै भ्रष्टाचार न्यूनीकरण हुनुपर्नेमा छ, त्यो आवाजलाई मेरो कार्यकालमा मेले विगतको भन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’
प्रतिक्रिया