काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक बिहिबार बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बोलाइएको छ ।
प्रतिनिधि सभा बैठकबाट बिहिबार बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी छ । संसद सचिवालयले सार्वजनिक गरेको बिहिबारको सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने उल्लेख छ ।
यसअघि ४ असोजमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । बिहिबार राष्ट्रिय सभामा पनि विनियोजन विधेयकमाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची तय भएको छ ।
प्रतिनिधिसभाबाट पारित विधेयकहरु राष्ट्रिय सभामा पठाइन्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ ।
त्यसपछि भदौ ३० गतेदेखिको ‘बजेट होलिडे’ अन्त्य हुनेछ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले जेठ १५ मा ल्याएको बजेट अध्यादेश साउन ३ मा संसदमा पेस भएको थियो ।
प्रतिक्रिया