काठमाडौं : वैदिक सनातन हिन्दू धर्मावलम्बीले एक महिने स्वस्थानी ब्रत विधिपूर्वक समापन गर्दैछन्।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज माघ शुक्ल पूर्णिमाका दिन ब्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।
आज मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रिमा जागराम बसी भोली बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुने विधि रहेको छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
ब्रत समापन गर्दा १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने ब्रत विधि छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ। स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ।
यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ। रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ। सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। ब्रतपछि बिछोडमा परेका नाग नागिनीसमेतको पुनःमिलन भएको कथामा उल्लेख छ।
प्रतिक्रिया