काठमाण्डू, भारतको दिल्ली यू–१९ विरुद्धको एकदिवसीय अभ्यास सिरिज नेपाल यू–१९ टिमले क्लिन स्विप गरेको छ ।
शनिबार सम्पन्न तेस्रो खेलमा दिल्लीलाई ५१ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।
श्रृंखलाको पहिलो र दोस्रो खेलमा नेपाल क्रमशः पाँच विकेट र १०२ रनले विजयी भएको थियो ।
नेपालले सिरिज अवधिभर दिल्लीविरुद्ध सानदार बलिङ गर्यो । सिरिजमा दिल्लीले कुनै पनि खेलमा एक सय रन कटाउन सकेन ।
तेस्रो खेलमा नेपाल यू–१९ ले दिएको १२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७१ रनमै अलआउट भयो ।
उसका लागि रौनक वाघेलाले २६ बलमा सर्वाधिक १७ रन जोडे । दिल्लीका बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
दिल्लीलाई ७१ रनमै अलआउट गर्नेक्रममा नेपालका दयानन्द मण्डलले ४ ओभरमा १४ रन दिएर ४ विकेट लिए ।
यस्तै, विपिनप्रसाद शर्माले दुई तथा नितेश पटेलले एक विकेट हात पारे । नेपालले तीन विकेट भने रन आउटको रूपमा प्राप्त गर्यो ।
नेपालले अफगानिस्तान र यू–१९ विश्वकप छनोटको तयारीस्वरूप दिल्ली यू–१९ सँग अभ्यास श्रृंखला खेलेको हो ।
नेपाल यू–१९ ले अफगानिस्तानसँग यही चैत २१, २४ र २७ गते माथिल्लो मूलपानी क्रिकेट मैदानमा एकदिवसीय सिरिज खेल्नेछ ।
त्यसपछि आयोजक नेपालले घरेलु मैदानमै यू–१९ विश्वकप छनोट खेल्ने तालिका छ ।
प्रतियोगितामा नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमानले प्रतिस्पर्धा गर्ने छन् । विश्वकप छनोट १२ देखि २८ अप्रिलसम्म आयोजना हुनेछ ।
छनोट प्रतियोगिताको च्याम्पियन टिम सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा आयोजना हुने आइसिसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।
प्रतिक्रिया