काठमाडौँ। किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँको राष्ट्रिय सभागृहमा शनिबार(भोलि) हुने भएको छ । ‘किरात राई जातिको इतिहास, भाषा, धर्म र संस्कृति संरक्षण हाम्रो अभियान–विश्वका किरात राईहरूको एकताका लागि किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ सम्मेलन हुने भएको हो ।
कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन र प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र थुलुङ राईले गर्ने बताइएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री विष्णुमाया लिम्बु (राई) समेत आउँदै छिन् ।
सम्मेलन मूल आयोजक समितिका सदस्य खुक्सङ खम्बु राईकाअनुसार कार्यक्रममा अन्य प्रदेशहरूका मन्त्री तथा सांसदहरूको समेत उपस्थिति रहने छ । त्यसैगरी कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जितेन राई, महागायक राजेशपायल राई, गायक तथा गायिकाहरू पार्वती राई, भीषण मुकारुङ, राई नवीन, पदम राईलगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।
यस्तै कार्यक्रममा हाँस्यकलाकारद्वय विल्सन विक्रम राई र उमेश राईसँगै वरिष्ठ बाँसुरीवादक नगेन्द्र राईलगायतको पनि प्रस्तुति रहने छ । सम्मेलनले खासगरी विश्वभर रहेका किरात राई समुदायको एकता, संस्कार, संस्कृतिमा एकरूपता ल्याउन प्रयास गर्नुका साथै प्रदेश १ को नाम किरात प्रदेश राख्न विशेष पहल गर्ने आयोजकले दाबी गरेको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा कात्तिक २८ गते बन्दसत्र हुने सदस्य राईले बताए । सम्मेलनमा ८ भन्दा बढी कार्यपत्रहरू प्रस्तुत हुने छन् । छलफलपछि सामूहिक निर्णयमार्फत अगाडि बढिने मूल आयोजक समितिका संयोजक दिवस राईले बताए ।
शनिबार उद्घाटन हुने सम्मेलन सोमबारसम्म चल्ने छ । सम्मेलनमा छिमेकी भारतको दार्जिलिङ्ग, सिक्किमसँगै अन्य देशहरू अमेरिका, बेलायत, इजरायल, यूएई, कतार, मलेशिया, मकाउ, हङकङ लगायतबाट प्रतिनिधिहरू आउने छन् ।
यस्तै १५ भन्दा बढी विदेश शाखा, २३ भन्दा बढी नेपालस्थित जिल्लाहरू २६ भन्दा बढी भाषिक संस्थाहरु, २ वटा किरात प्रदेश समन्वय समितिहरू र ८ भातृ संस्थाहरूबाट ३७५ जनाभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने छ । यसअघि ०६७ साल चैत २७ र २८ गते काठमाडौँमै पहिलो र ०७१ साल फागुन ९ र १० गते भारतको सिलिगुढीमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।
प्रतिक्रिया