काठमाडौँ : सार्वजनिक गाडीमा तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरिरहेको छ । बढेको भाडा अनुसार अहिले न्यूनतम भाडा १८ रुपैयाँ तोकिए पनि २० रुपैयाँ भाडा लिएको पाइएको महाशाखाका सहायक प्रवक्ता सन्तोष रोक्काले जानकारी दिए ।
वाग्मती प्रदेश सरकारले दशैँअघि निर्णय गरेर कात्तिक १ गतेदेखि सार्वजनिक गाडीको भाडा बढाएको थियो । २३ रुपैयाँ भाडा तोकिएका ठाउँमा खुद्रा छैन भन्दै सार्वजनिक गाडीका परिचालकले २५ रुपैयाँ भाडा लिने गरेका छन् ।
प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा वृद्धि गर्ने निर्णय गरे पनि सार्वजनिक गाडीका चार किमी दूरीमै २५ रुपैयाँ भाडा लिने गरेको यात्रुको गुनासो छ । चार किमीमा १८ रुपैयाँ भाडा सरकारले तोकेको छ ।
बढी भाडा लिएको पुष्टि हुने भएपछि पहिल्यैदेखि स्थानीय मार्गमा सार्वजनिक गाडीले टिकट दिँदैनन् । भाडा बढेपछि बढी भाडा लिएको गुनासो बढ्ने गरे पनि सरकारी तहबाट अनुगमन हुन नसकेको बताइएको छ ।
पछिल्लो पटक वाग्मती र प्रदेश नं १ सरकारले ढल्ने निश्चित भएपछि यातायात व्यवसायीको प्रभावमा भाडा वृद्धि गरेर यात्रुलाई दुःख दिने काम गरेको उनको भनाइ छ । यो निर्णय नयाँ बनेको सरकारले सच्याउनुपर्नेमा ध्यान जान नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
सङ्घीय सरकारले पनि ढल्ने निश्चित भएपछि असार २७ गते एक प्रदेशबाट अर्को प्रदेशमा सञ्चालन हुने लामो दूरीका गाडीको भाडा वृद्धि गरेको थियो । यो निर्णय पनि असार २९ गते नै बनेको पाँच दलीय गठबन्धनको सरकारले नसच्याएर जनताका समस्यामा ध्यान नदिएको यात्रु रविना मल्लले बताए ।
महाशाखाले भने तोकिएभन्दा बढी भाडा लिने गाडीलाई कारबाही गरिरहेको जनाएको छ । सुरुमा दैनिक २० देखि २५ र अहिले १० देखि १५ वटा सार्वजनिक गाडीलाई बढी भाडा लिएकामा महाशाखाले कारबाही गरिरहेको छ ।
बढी भाडा लिने गाडीको नम्बर महाशाखाको टोल फ्रि नं १०३ मा टिपाए उपत्यकाभर जुनसुकै ठाउँमा भए पनि ती गाडीलाई कारबाही हुने गरेको सहायक प्रवक्ता रोक्काले बताए ।
प्रतिक्रिया