काठमाडौँ : सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा पास गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बीच बुधवार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई चाँडो कोरिया लैजान अनुरोध गरेको हो ।
साथै सरकारले ईपीएस अन्तर्गत नेपालका लागि कोटा सङ्ख्या बढाउन पनि आग्रह गरेको छ । बैठकमा दुई पक्षबीच कोभिड–१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बताए ।
दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदान महत्त्वपूर्ण रहेको स्वीकार गर्दै दुवै पक्षले रोजगार ईपीएस सम्बन्धी समझदारी पत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्नेमा सहमति जनाएका छन् ।
बैठकमा नेपाल–कोरिया सम्बन्धको समग्र पक्षबारे विचार–विमर्श हुनाका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नतामा जोड दिइएको थियो ।
छलफलका क्रममा दुवै पक्षले संयुक्त राष्ट्र सङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लगायत क्षेत्रीय तथा बहुपक्षीय तहमा पारस्परिक लाभका क्षेत्रमा सम्भावित सहयोगबारे पनि विचार आदान प्रदान गरेका थिए ।
बुधबार नै परराष्ट्र सचिव भरतराज पौड्यालसँग महानिर्देशक सङ्ग्र्योल लीले शिष्टाचार भेट गरे । भेटमा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया