काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार (आज) पदबाट राजीनामा दिने भएका छन् । राजीनामा दिनु अगाडि मुख्यमन्त्री शाहीले बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठकमा सबै मन्त्रीहरुलाई उपस्थित हुन निर्देशन दिएको छ । सरकारका एक मन्त्रीका अनुसार मुख्यमन्त्री शाहीले आजै राजीनामा दिने तयारी गरेका छन् । यसअघि विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीले कांग्रेससँग सत्ता साझेदारीको ’सम्झौता’ गरेका थिए ।
कांग्रेससँगको सम्झौताअनुसार नै मुख्यमन्त्री शाहीले राजीनामा दिने भएका हुन् । कर्णालीमा अब कांग्रेस नेतृत्वमा सरकार गठन हुने भएको छ । कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री हुने जनाइएको छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि साबिककै दलका रुपमा पुनःस्थापित भएका नेकपा माओवादी केन्द्र र नेकपा एमालेले कर्णालीमा सत्ता साझेदार थिए । एमालेले पछि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका सबै र नेकपा एमालेका ४ सांसदले समेत समर्थन गरेका थिए ।
प्रतिक्रिया