काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतको नाममा राजनीति भइरहेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानन्यायाधीशको विषयमा अहिले देखिएको विवादमा कसैको पनि पक्षधरता नलिने बताएका हुन् ।
सत्ता पक्षसँगको साँठगाँठका कारण विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहेका छन् । यस विषयमा सत्ता पक्षका नेताहरु मौन छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यो विवादमा कसैको पनि पक्षधरता नलिने बताए । प्रेस चौतारी मोरङले विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रधानन्याधीशको राजीनामा नमाग्ने र महाअभियोगको माग पनि नगर्ने संकेत गरे ।
उनले अदालत भित्र भइरहेको दाउपेच र गुटबन्दीमा नपस्ने बताए । उनले अदालत स्वतन्त्र रहनुपर्ने र संविधानअनुसार चल्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया