काठमाडौं : बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौंमा दसैँको टीकासँगै चहलपहल बढेको छ । दसैँको टीकाको दोस्रो दिन शनिबार पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ ।
विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । काठमाडौं उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ ।
यो पटकको दसैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ । उपत्यकामा पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।
तुलनात्मक रूपमा आज सडकमा सवारी साधन बाक्लो सङ्ख्यामा चलेका देखिन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ ।
टीकाको पहिलो दिनभन्दा शनिबार केही बढी सवारी साधन चलेका छन् । सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
प्रतिक्रिया