काठमाडाैंः देशभर हाल मनसुनी वायुको प्रभावका कारण देशका थुप्रै स्थानमा वर्षा भइरहेकाे छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बामगती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धोरै स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा केही स्थानमा मेघगर्जन/चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा अत्याधिक वर्षाको पनि सम्भावना रहेको छ। राति लुम्बिनी, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा थोरै वर्षाको सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा गएरातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौंमा १६ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा धेरै घोराहीमा १३६, ताप्लेजुङमा ५८, धनकुटामा ५० र पोखरामा ४६ मिलिमिटर वर्षा भएको छ।
आज काठमाडौंको अधिकतम २९ दशमलव ५ र न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रहेको छ।
प्रतिक्रिया