काठमाडौँ : एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि चितवन टाइगर्सले हात पारेको छ । शनिवार (आज) त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।
चितवनको जितमा भीम सार्कीको अर्धशतक र कमल सिंह ऐरीको उत्कृष्ट बलिङको योगदान रहेको छ । विजेता चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख प्राप्त गर्नेछन् ।
११२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । सोमपाल कामीले किशोर महतोलाई चौका प्रहार गर्दै उपाधि पक्का गराएका हुन् ।
चितवनको जितमा भीम सार्कीले ४५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए । भीमले ३५ बलमा अर्धशतक पूरा गरेका थिए । भीमको जारी ईपीएलमा यो दोस्रो अर्धशतक हो ।
तीव्र गतिका बलर नन्दन यादवको पहिलो ओभरको दोस्रो बलमै ओपनर हासिम अन्सारी विकेटकिपर विनोद भण्डारीबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो ओभरको तेस्रो बलमा किशोर महतोले करिम जन्नतलाई शून्यमा क्याच आउट गराए । किशोरले चौथो ओभरको अन्तिम बलमा मोहम्मद शाहजादलाई ११ रनमा विपिन रावलबाट क्याच गराएका थिए ।
टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भयो ।
प्रतिक्रिया