काठमाडौं : सरकारले प्रदान गर्ने मान पदवी विवादित बन्न थालेपछि अस्वीकार गर्नेको संख्या बढ्दै गएको छ । सरकारले विभिन्न क्षेत्रमा रहेर योगदान गरेका व्यक्तिहरुलाई संविधान दिवसको अवसरमा पदक वितरण गर्दै आएको छ ।
यस वर्ष पनि ९०३ जनालाई पदक दिने घोषणा सरकारले गरेको थियो । सरकारले उनीहरुको नामावली सार्वजनिक गरेसँगै सर्वत्र आलोचना भइरहेको छ ।
अघिल्लो सरकारको पालमा पदक पाउने अधिकांश नेकपा एमालेनिकटका थिए । यसपटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट धेरै रहेका छन् ।
त्यसमा दलीय भागबण्डा र विवादित व्यक्तिहरुले पाउन थालेपछि अधिकाशंले आफू त्यस पदक पाउन अयोग्य भएको भन्दै अस्वीकार गरेका छन् । यसरी मानपदवी अस्वीकार गर्नेमा धेरैजसो पत्रकार रहेका छन् ।
उनीहरुले सामाजिक सञ्जालमार्फत् पदक नलिने घोषणा गरेका हुन् । पदक अस्वीकार गर्ने पत्रकारहरुमा हरिबहादुर थापा, कृष्णज्वाला देवकोटा, रवि मिश्र, रविन सायमी, नारायण अमृतलगायत छन् ।
यसैगरी चिकित्सक अशेष ढुंगानाले विभूषित हुन अस्वीकार गरेका छन् । उनले सुप्रवल जनसेवाश्री पदक लिन अस्वीकार गरेका हुन् । नेपाली कांग्रेसका नेता एवं पूर्वमेयर पीएल सिंहले पनि सरकारले प्रदान गरेको सुप्रशिद्ध प्रवल जनसेवाश्री पदक अस्वीकार गरेका छन् ।
त्यसो त पदक अस्वीकार गरेको यो नै पहिलोपटक भने होइन। अघिल्ला वर्षहरुमा पनि विभिन्न व्यक्तिहरुले सरकारले दिने भनेको पदक लिन अस्वीकार गरेका थिए ।
यता गृह मन्त्रालयका प्रवक्ता फनिन्द्रमणि पोखरेलले सरकारले सम्बन्धित व्यक्तिलाई जानकारी गराएर नै पदक दिने निर्णय गरिएको बताए । उनले कुनै व्यक्तिलाई पुरस्कृत गर्दा सोधेर फाराम नै भरेर घोषणा गर्ने गरेको बताए ।
‘सरकारले कुनै व्यक्तिलाई पुरस्कृत गर्नुपर्ने देखेमा सम्बन्धित व्यक्तिलाई सोधिन्छ, राज्यले तपाईंलाई पुरस्कृत गर्दै छ भन्ने सूचना दिइन्छ । त्यसपछि त्यसैका आधारमा सकेसम्म सम्बन्धित व्यक्तिलाई फाराम भर्न लगाइन्छ, कतिपयलाई सोधेर फाराम भरिन्छ,’ पोखरेलले भने, ‘त्यसो नगरे सरकारलाई एक–एक गरी सबै व्यक्तिको भूमिका, योगदान र ठेगाना कसरी थाहा हुन्छ? त्यो सबै बुझेरै गरिन्छ ।’
राज्यले दिएको पुरस्कार लिन अस्वीकार गर्दै छन् भन्ने विषयमा आफूहरुलाई जानकारी नभएको पोखरेलले बताए । मृत्यु भइसकेका व्यक्तिको हकमा भने सम्बन्धित परिवारका सदस्यलाई जानकारी नदिइ पुरस्कृत गर्न सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया