काठमाडाैंः बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदकाे उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ। मतदान केन्द्र हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको छ।
मतदानकाे समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मलाई कायम गरिएकाे छ भने निर्वाचन सम्बन्धी शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड र अरु व्यवस्थापकिय पक्षकाे सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
उपनिर्वाचनमा बागमती प्रदेश सभा सदस्य एक सय १० र बागमती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी कूल तीन सय ४८ मतदाता छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ।
मतदातामध्ये प्रदेश सभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ। मतदान केन्द्रमा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै बुथकाे व्यवस्था मिलाइएको छ।
उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ।
निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तथा एमालेकै माधव नेपाल समूहतर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन्। त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन्।
निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोगले जनाएको छ। नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो।
प्रतिक्रिया