काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अखिल क्रन्तिकारीको राष्ट्रिय सम्मेलन सरेको छ । आइतबार विहान केन्द्रीय कार्यालयको बैठकले हप्ता दिनका लागि राष्ट्रिय सम्मेलन सार्ने निर्णय गरेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।
अब आगामी असोज १४, १५ र १६ गते २२ औं राष्ट्रिय सम्मेलन गरिने तामाङले जानकारी दिए । असोज १४ गते प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गरेर असोज १४ र १६ गते कीर्तिपुरमा चल्ने बन्द सत्रबाट नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।
यसअघि असोज ८, ९ र १० सम्मेलन गर्ने भनिएको थियो। ‘हामी समयमै राष्ट्रिय सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्न तयार छौं, त्यसका लागि जिल्लाका सबै सम्मेलन भ्याउन सकेनौं,’ तामाङले नेपाल लाइभसँग भने, ‘त्यसैले हप्तादिन पछाडि असोज १४, १५ र १६ गतेका लागि सारेका छौ ।’ दशैं अघि नै अखिल क्रान्तिकारीको नयाँ नेतृत्व आइसक्ने तामाङको दाबी छ ।
अखिल क्रान्तिकारीको अध्यक्षका लागि ६ जनाबीच प्रतिष्पर्धा चल्ने देखिएको छ । जसमा तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी र विजय गौतम छन् । अधिकारी बाहेक सबै यसअघि उपाध्यक्ष पदमा थिए ।
यस्तै, महासचिवका लागि दर्जन नेताहरुले दाबी गरेका छन् । जसमा दिपेश पुन, जीपी मैनाली, मिलन एमसी, तुकमान महरा, नरेश रेग्मी, पवन कार्की, केशव रावल, अच्यूत भट्ट लगायत छन् ।
महासचिव पदमा दाबी गरेमा उपाध्यक्ष पद सुनिश्चित हुने भएपछि धेरैले दाबी गरेका बताएको छ । तर, माओवादी केन्द्रले सर्वसम्मत रुपमा नेतृत्व टुंगो लगाउन दबाब दिएको छ ।
प्रतिक्रिया