काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलालाई थुनामुक्त गर्न अदालतले आदेश दियाे।
सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो।
‘बिनाआधार कारण थुनामा राखेकामा यसअघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकामा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ, अदालतका रजिष्ट्रारको रोहवरमा गैरकानूनी थुनामा राखिएका बाँस्तोलालाई थुनाबाट मुक्त गरिदिनू’, आदेशमा भनिएको छ।
तर उनलाइ रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पुन:पक्राउ गरेको छ। यसअघि पनि गत माघ १५ गते र २२ गते पनि अदालतले थुनामुक्त गराउन आदेश दिएको थियो। त्यसबेला पनि आदेशलगत्तै रिहा भएका उनलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको थियो।
गत पुस २९ गते बाँस्तोलासहित ४ जनालाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो। बाँस्तोलामाथि नक्खुस्थित एनसेल टावरमा बम विस्फोट गराउन संलग्न रहेको आरोप छ।
प्रतिक्रिया