काठमाडौं: नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व पुनर्गठन हुने भएको छ । शनिबार बस्न लागेको सचिवालय बैठकबाट संगठनको नेतृत्व पुनर्गठन गर्न लागिएको अनेरास्ववियुका इन्चार्ज एवं पूर्वअखिल अध्यक्ष खिमलाल भट्टराईले जानकारी दिए ।
‘आगामी चैतमा राष्ट्रिय महाधिवेशन गर्ने तय भइसकेको छ,’ उनले भने, ‘त्यसैले अहिलेको नेतृत्वलाई बिदा गरेर पुनर्गठन गर्न लागिएको हो ।’ नेतृत्व पुनर्गठनका लागि शनिबार अनेरास्ववियुले सचिवालयको बैठक बोलाएको छ ।
महाधिवेशनसम्म भए पनि अखिलको नेतृत्वका लागि संगठनका पदाधिकारीहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । इन्चार्ज भट्टराईका अनुसार हालका उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र सचिव आरसी लामिछानेले आकांक्षा देखाएका छन्। यी चार जनामध्येबाट नै एक जनालाई नेतृत्वको जिम्मेवारी तोकिने उनले जानकारी दिए ।
त्यस्तै बैठकले संगठनका अन्य पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा सदस्यहरूको पनि टुंगो लगाउनेछ। संगठनका अध्यक्ष ऐन महरसहितका बिदा हुने उपाध्यक्षहरुलाई पार्टीको प्रदेश कमिटीमा जिम्मेवारी दिने गरी संगठनको पुनर्गठन हुन लागेको भट्टराईले जानकारी दिए।
प्रतिक्रिया