लेटेस्ट न्युज
advertisement1

एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता    

Maryada News 2021-08-18 21:16:50
एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता    

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गर्नुभएसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन पुष्टि भएको हो ।     
     
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका निम्ति आयोगमा निवेदन दर्ता भएको जानकारी दिए । नेकपा एमाले (समाजवादी)मा साविक नेकपा एमालेका सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३१ सांसद र ५८ केन्द्रीय सदस्य रहेका नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उक्त दलले माधव नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३३ रहेको छ ।     
     
आयोगमा आजै जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)नामको नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दर्ता भएको छ । साविक जनता समाजवादी पार्टी विभाजनका क्रममा नयाँ दल दर्ता भएको हो ।     
     
पुराना राजनीतिज्ञ महन्थ ठाकुरको अध्यक्षतामा गठित उक्त पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतोसहितको २४ सदस्यीय कार्यकारिणी समिति रहने छ । नयाँ दलमा साविक जसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य रहेको जानकारी दिइएको छ ।     
     
उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३४ रहेको छ । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ आज जारी गरेसँगै एकै दिन मुलुकको राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेका एमाले र जसपा विभाजन भई नयाँ दल दर्ताको प्रक्रिया अघि बढेको हो ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्