लेटेस्ट न्युज
advertisement1

नेपालद्धारा अमेरिका ५ विकेटले पराजित

Maryada News 2021-09-14 01:31:37
नेपालद्धारा अमेरिका ५ विकेटले पराजित

काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । 

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले ।

उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।


उत्कृष्ट सुरुवात गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तराष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । यस अघि नेपालको उच्च साझेदारी ६१ रन रहेको थियो । आसिफ २३ रनमा आउट भए ।
यस्तै रोहित कुमार पौडेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । लगातार दोस्रो अर्धशतक पूरा गर्ने क्रममा उनले ८७ बलमा ३ छक्का र २ चौका प्रहार गरे । एकदिवसीय अन्तराष्ट्रियमा लगातार दुई अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी बने ।
विनोद भण्डारी ३७ रनमा आउट भए । करण केसी १ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १७ तथा कुशल मल्ल १ रनमा आउट भए ।
अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २÷२ विकेट लिए ।  सौरभ नेत्रभाल्करले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले ।

यस्तै  निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे । संजय कृष्णमुर्थी  र नोस्तुश केन्जिगेले समान १३÷१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाए ।

अभिषेक पराद्करले अविजित १३ र सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे। नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २÷२ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो ।

जितसँगै नेपालले ५ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा घरेलु टिम ओमानसँग खेल्नेछ । नेपाल र ओमानबीचको खेल मंगलबार हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्